चितवन पीपीएल च्याम्पियन

चितवन राइनोज दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । पहिलो संस्करणको उपविजेता चितवन अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको हो । चितवनले शनिबार भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधि जितेको हो । गत वर्ष चितवन फाइनलमा पोखरा पल्टनसँग ३ विकेटले पराजित भएको थियो ।
चितवनले दिएको २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रन मात्रै जोड्न सक्यो । मोहम्मद जैद आलमले ५७ रनको योगदान दिए पनि हार्न टार्न सकेनन् ।
उनले ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरी अर्धशतक पूरा गरेका थिए । कप्तान ऐरीले ३६, पूनित मेहराले ३२ र नोमान खानले १८ रन जोडे । अन्य ब्याट्म्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । चितवनका लागि करण केसीले ३६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, सन्नी पटेलले २ र रोहन मुस्ताफाले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको चितवनले ओपनर मुस्ताफा र अनिलकुमार शाहले अर्धशतकीय योगदानको विशाल योगफल खडा गरेको थियो । दुवैले समान ५० रन जोडेका थिए ।