लिम्पियाधुरा नेपालको हो भन्दा हामीले के अपराध गर्यौँ ?: सिपी गजुरेल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले वर्तमान सरकार फासीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गजुरेलले सीमा अतिक्रमणबारे उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाने क्रममा आइतवार आफूहरुलाई गिरफ्तार गरेकोमा आपत्ति जनाउँदै यस्तो आरोप लगाएका हुन्।
‘हिजोको घट्ना पूर्व अनुमानभन्दा बाहिरको हो। हामी सरकारलाई जानकारी गराएरै ज्ञापनपत्र बुझाउन सिंहदरबार गएका थियौं। तर, प्रहरीले ज्यादती गर्यो। हाम्रा साथीहरुमाथि अन्धधुन्ध लाठी चार्ज भयो’, उनले भने, ‘हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन चाहेका थियौं। तर उहाँ पूर्णत: बेड रेष्टमा भएको खबर सचिवालयबाट आएपछि रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने समय लिएर गएका थियौं।’

गजुरेलले हनुमानस्थानमै आफूहरुमाथि धरपकड भएको सुनाए। उनले हिजो घटेको घट्ना प्रायोजित भएको दाबी गरे। नेपालको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक राखेर भारतले नयाँ नक्सा निकालेपछि आफूहरुले भारतको विरोध गरेको पनि उनले सुनाए।
‘भारतले आफ्नो नयाँ नक्शामा नेपाली भूमि राखेपछि अहिले नेपालमा पार्टीहरु, विभिन्न संघ, संस्था, बौद्धिक व्यक्तिहरु, ख्यातिप्राप्त कलाकारहरुले पनि विरोध गरे। हामी पनि विरोधमा उत्रिएका थियौं’, उनले भने, ‘पछिल्लो समय यो शिथिल भएको थियो। हामीले फेरि यो विषयलाई उठायौं। सरकारले यसलाई दबाएर लैजान चाहेको थियो होला। हामीलाई त हिजोको कदमबाट यो आशंका पैदा भएको छ।’
हिजोको घट्नालाई लिएर सामाजिक सञ्जाल तथा मूलधारका मिडियामा राम्रो कभरेज भएको पनि उनले सुनाए। ‘हिजोको कदमले मुलुकमा ध्रुवीकरण पैदा गरेको छ। यो गम्भीर खतराको कुरा हो। देशको सीमा मिचिएको विषयमा कुरा उठाउँदा हामीलाई देशभक्त भनिएको छ’, उनले भने, ‘अनि देशभक्तहरुमाथि नै किन दमन गरियो? हामीमाथि नै लाठी चार्ज भयो।’
भारतले नेपाली भूमि मिचेर आफ्नो नक्सा जारी गर्दा नेपालले भने आफ्नो नक्सा पनि जारी गर्न नसकेको उनको आरोप छ। उनले नेपालको संविधानलाई विश्वकै सर्वोत्कृष्ट भनेर चर्चा गरिएको सुनाउँदै देशको संविधानमा निशान छाप नै भारतीय नक्साको डुप्लिकेट रहेको टिप्पणी गरे।
उनले भने,‘लिम्पियाधुराको चुच्चो नै गायब छ। यो त हद भयो।’ उनले नेपालको सीमा मिचिएको विषयमा नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले आफ्नो तहमा वार्ता गर्नुपर्ने बताए। ‘प्रधानमन्त्रीतहमा किन वार्ता भएन? मोदी र ओलीबीच वार्ता हुनको लागि के ले रोक्छ? किन लापरवाही? हिजो जनकपुरमा मोदीजी आउँदा राजस्थानी लुगा लगाएर भेट्न गएको होइन?,’ उनले प्रश्न गरे।
उनले आफूहरुको लागि राष्ट्रियताको मुद्दा नै प्रधान भएको सुनाए।‘हाम्रो लागि देश ठूलो कुरा हो। राष्ट्रिय स्वाधीनताको रक्षा हाम्रो पार्टीको पहिलो उद्धेश्य हो। कालापानी, लिम्पियाधुरा, लिपुलेक हाम्रो हो भनेर भन्न पाइँदैन? यसो भन्दा हामीले के अपराध गर्यौं ?,’ उनले प्रश्न गरे।
एमसिसीबारे किन मौन?
अमेरिकाले एमसीसी आईपिएसको अंग भएको बताएपछि अहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बोली बन्द भएको गजुरेलले बताए। ‘प्रचण्डबाबु किन चुप भए? अमेरिकाले एमसीसी आईपिएसको अंग भनेपछि उहाँको बोली नै बन्द भयो,’उनले भने। नेपाल अमेरिकाको सामरिक रणनीतिमा सामेल हुँदा नेपालको असंलग्नताको नीति भत्किने पनि उनको टिप्पणी छ। उनले आफूहरुले राष्ट्र जोगाउने आन्दोलन सुरु गरिसकेको पनि बताए।
‘गणतान्त्रिक अधिकार प्राप्त गर्न हामीले आन्दोलन सुरु गरिसकेका छौं। यसमा हामीलाई सहयोग गर्नुहोस्। नेपाललाई विदेशीको रणभूमि हुनबाट जोगाउनुपर्छ’, उनले भने, ‘हामी सबै एकजुट भएर लाग्यौं भने कालापानीबाट भारतीय सेना हटाउन सक्छौं।’
स्रोतःhttp://thahakhabar.com/news/87626