आज तमु ल्होछारः मृग वर्गलाई विदाई, मुसा वर्गलाई स्वागत
पुस । देशभर पुसको जाडो भगाउन मानिसहरुले खिचडी खाइरहदा गुरुङ समुदाय भने धुमधामका साथ तमु ल्होछार मनाइरहेका छन् ।
१५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायले परम्पराअनुसार आज मृग वर्षलाई दिाइ गरेर मुसा वर्षलाई स्वागत गरिरहेका छन् ।
गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हो । वर्ष फेरिने दिन भएकाले आजको दिनलाई ल्होछार भनिएको गुरुङ संस्कृतिवेत्ताहरु बताउँछन् ।
१४ पुस १४ को मध्यरात अर्थात १२ बजे मृग वर्ष समाप्त भएर मुसा वर्ष शुरु भएको र यसैको स्वागतमा आज उपत्यकाको टुँडिखेललगायतका स्थानमा गुरुङ समुदयाले सांस्कृतिक पहिरनसहित पर्व मनाउँदै गरेको तमु ल्होछार मूलआयोजक समितिले जनाएको छ ।
गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नाम चयन गरेका छन् । जस अन्र्तगत मुसा गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग पर्छन । यो वर्ष अन्तिम अर्थात १२ वर्ष हुनेछ ।
ल्होछारका अवसरमा तीन दिनसम्म गुरुङ समुदायको सांस्कृतिक परम्परामा आधारित लोकदोहोरी गीत प्रतियोगिता पनि आयोजना गरिएको छ ।
आज दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारी तमु ल्होछार मूलसमारोह समितिले टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा सहभागी हुने तय भएको आयाजक समितिले जनाएको छ । सरकारले आज तमु समुदायलाई पर्व मनाउन सार्वजनिक बिदा दिएको छ ।