कावासोतीमा महोत्सव हुने

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा माघ ९ गतेदेखि छैंठौं नवलपुर महोत्सव हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा १० दिनसम्म चल्ने महोत्सव माघ ९ गतेदेखि माघ १९ गतेसम्म हुने छ ।
नवलपुर उद्योग वाणिज्य संघ नवलपुरले विहीबार गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सव कावासोती ३ राममन्दिर खुल्ला मैदान (नमुना सदरमुकाम स्थल) मा हुने छ । २ सय ५० वटा व्यापारिक स्टल र २५ वटा कृषि, शैक्षिक, सूचना र सामाजिक स्टल गरी २ सय ७५ वटा स्टल रहने महोत्सवमा ५ करोडको कारोबार हुने अपेक्षा गरेको उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलले बताए ।
३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको महोत्सवमा नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी आयोजना गर्न थालिएको अध्यक्ष बस्यालले बताए ।
महोत्सव स्थानीय वस्तुको व्यापार पबद्र्धनका लागि आयोजना गरिएको जनाइएको छ । महोत्सवमा कृषि उपजका स्टल, खानाका स्टलका साथै बालउद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।
महोत्सवमा नवलपुर डान्स आइडल, आदिवासी जनजातिहरुको मौलिक घर र भेषभुषाको प्रदर्शनी समेत रहने जनाइएको छ ।
नवलपुर उद्योग वाणिज्य संघका महासचिव बैकुण्ठ प्रसाद अर्यालको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा नवलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश पौडेल र संघका वरिष्ठ उपाध्यक्ष पुष्प पाण्डे लगायतले बोलेका थिए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सवका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।
महोत्सव तयारीका लागि ओमप्रकाश पौडेलको संयोजकत्वमा अनुगमन तथा मूल्यांकन उपसमिति, पुष्प पाण्डेको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, गोविन्द क्षेत्रीको संयोजकत्वमा सांस्कृतिक उपसमिति, सागर पोख्रेलको संयोजकत्वमा स्टल व्यवस्थापन उपसमिति, हरि सुवेदीको संयोजकतवमा संचार उपसमिति, महासचिव अर्याल प्रवक्ता, पूर्णप्रसाद न्यूरेको संयोजकत्वमा सेल्फी जोन उपसमिति, केशवराज भट्टराई संयोजकत्वमा आर्थिक समिति, मनी गुरुङको संयोजकत्वमा छपाई तथा मसलन्द उपसमिति गठन गरिएको छ ।