कपिलवस्तुका सांसद शाहविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी

कपिलवस्तु –३ बाट निवार्चित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ ।
शाहविरुद्ध राप्रपाका केन्द्रीय सदस्य तथा कलाकार श्यामकुमार मिश्राले आफ्नो ज्यान मार्ने प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा जाहेरी दिएका हुन् ।
शाहविरुद्ध मुद्दा दर्ता भएको तर अदालतबाट पक्राउको अनुमति लिन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी सुनील मल्लले बताए । मल्लले शुक्रबार अदालतको अनुमति लिने बताए ।
सांसद शाहले गत पुस ५ गते साँझ आफूलाई घरमा बोलाएर ज्यान लिने योजना बनाएको मिश्राले यसअघि सञ्चारमाध्यमसंग दावी गरेका थिए । घरमा बोलाएर सांसद शाहले गेस्ट रुममा ढोका थुनेर नशालु पदार्थ सुंघाएर अन्धाधुन्ध कुटपिट गरेको मिश्राको आरोप छ ।