इराकबाट अमेरिकी सेना फिर्ता नहुने

इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन्।
एकजना अमेरिकी सैन्य जेनेरलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् उनले इराकबाट अहिलै फौज फिर्ता गर्ने बेला नभएको स्पष्ट पारेका हुन्।
ती अमेरिकी सैन्य जेनेरलले लेखेको पत्रमा अमेरिकाले “आगामी दिन र साताहरूमा फौजलाई स्थानान्तरण गर्ने” उल्लेख गरिएको थियो।
इराकी संसद्ले इराकबाट अमेरिकी फौज फिर्ता हुनुपर्ने भनी सङ्कल्प प्रस्ताव पारित गरेपछि उक्त पत्र लेखिएको थियो।
अमेरिकी रक्षामन्त्रीले चाहिँ उक्त पत्र “अहिले अमेरिकाले राखिरहेको अडानसँग नमिल्ने” बताए।
अमेरिकी सेनाका एकजना वरिष्ठ सैन्य अधिकारीले पनि उक्त पत्रको “भाषा नमिलेको र गल्तीले पठाइएको” बताएका छन्।
इराकमा इरानी सैन्य जेनेरल कासिम सुलेमानीको हत्यापश्चात् अमेरिकी सेनामाथि बढेको खतराबीच यस्तो अन्योल सिर्जना भएको हो।