बुलिङ्गटार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहित सात कर्मचारी हाजिर

नवलपुर । कर्मचारी अभावका कारण हैरानी व्यहोर्नु परेको पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहितका सात जना कर्मचारी आएपछि सर्वसाधारणले राहत महशुस गरेका छन् ।
लामो समयदेखि खाली रहेको प्रमुख प्रशासकीय अधिकृत सहित सात जना कर्मचारी बुलिङ्गटार गाउँपालिकामा हाजिर भएका हुन् । मंगलबार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा टिका बहादुर गोदार सहित अन्य छ जना कर्मचारीले आफ्नो कार्यभार सम्हालेको गाउँपालिका अध्यक्ष शशिकिरण वस्ताकोटलीले बताए ।
गाउँपालिकामा गोदारसँगै पाँचौ तहमा ३ जना, छैठौं तहमा १ जना, लेखापाल १ जना, आन्तरिक लेखा परीक्षक १ जना र इन्जिनियर १ जना गरि जम्मा ८ जना कर्मचारीको पुनर्बहाली भएको हो । गाउँपालिकामा करिव तीन महिना देखि अधिकांश कर्मचारी नहुँदा स्थानीय सेवाग्राही मर्कामा परेका थिए ।
हाल रिक्त रहेका सबै पदमा कर्मचारीले कार्यभार सम्हालेपछी अब स्थानीयलाई समस्या नपर्ने बुलिङ्गटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले बताए ।
६ वटा वडा रहेको गाउँपालिकमा यस अघि वडाध्यक्षले कागजपत्र रुजु गरेपछी अहेबले दस्तखत गरेर काम चलाईएको थियो। विगत ३ महिना देखि प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नहुँदा सम्पूर्ण आर्थिक कारोबार र लगाएतका सम्पुर्ण कार्य ठप्प रहेको थियो ।