इरानमा बोइङ दुर्घटना, १७६ जनाको मृत्यु

युक्रेन इन्टरनेशनलको विमान इरानमा दुर्घटना हुँदा त्यसमा सवार सबै १७६ जनाको मृत्यु भएको इरानका सञ्चार माध्यमहरुले बताएका छन् ।
बोइङ ७३७ विमान बुधबार बिहान इरानको राजधानी तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटना भएको थियो ।
इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् ।
नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको जानकारी दिँदै भनेका छन्, ‘जाँचबुझका लागि दुर्घटनास्थलमा टोली खटिएको छ ।’
विमान दुर्घटना हुनुभन्दा केही घण्टा अगाडि इरानले इराकस्थित अमेरिकी सेना बसेका दुई स्थानमा आक्रमण गरेको थियो । यो आक्रमण इरानी सेनाका कमाण्डर कासिम सुलेमानी मारिएको बदलामा गरेको इरानले जनाएको छ ।
बोइङ जहाज पटक-पटक दुर्घटना हुन थालेपछि यसको साख गिरेको छ । कम्पनीको साख फर्काउने उद्देश्यले हालै बोइङले प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेनिस मिलेनबर्गलाई बर्खास्त गरेको थियो ।