१६ दिन देखि वेपत्ता एक कुखुरा व्यवसायी मृत फेला
सप्तरी जिल्लाको राजगढ गाउँपालिकाबाट १६ दिन देखि वेपत्ता एक कुखुरा व्यवासयीको शव भेटिएको छ ।
सो गाउँपालिका ३ निवासी ४६ बर्षिय सूर्य नारायण मण्डल विगत १६ दिन देखि वेपत्ता थिए । कुखुरा फारममै बस्दै आएका उनी गत पुस ११ गते ग्राहकबाट उधारो रकम उठाउन ताकेदाका लागि जान्छु भन्दै हिडेका थिए । तर धेरै दिन वित्तिसक्दा पनि उनी नफर्केपछि आफन्तले प्रहरीमा जानकारी गराएका थिए ।
आफन्तबाट प्रहरीमा परेको हुलिया विवरण सहीतको उजुरीको आधारमा उनको खोज तलास कार्य भईरहेकै बेला शनिबार साझ उनको मृत शरीर सोही वडा स्थित रतनसागर पोखरी किनारमा फेला परेको डिएपी तिलक भारतीले बताए ।

मण्डलले संचालन गर्दै आएको कुखुरा फारम घटनास्थलबाट २ सय मिटरको दुरीमा रहेको छ । स्थानियले पोखरीमा टाउँको देखिएपछि प्रहरीलाई खबर गरेका थिए । डिएसपी भारतीले मण्डल मृत अवस्थामा भेटिएको तर हत्या भए नभएको यकिन हुन नसकेको बताए ।
मृतकको शव आईतबार पोष्टमार्टमका लागी धरान स्थित विपी कोईराला स्वास्थ्य विधान प्रतिष्ठान पठाइएको छ, डिएसपी भारतीले भने, पोष्टमार्टम रिपोर्ट आएपछि सत्य, तथ्य, यथार्थ बाहिर आउछ । स्थानियका अनुसार घरायसी विवादका लागी मण्डलकी पत्नी विगत १५ वर्ष देखि माइतमै बस्दै आएकी छिन् ।
मण्डल भने कुखुरा फारममै बस्दै आएका थिए । मृतक मण्डलका भाइ शिव नारायणले दाजु सूर्य नारायणको मृत्यु प्रकरण शंकैशंकाको घेरामा रहेको भन्दै यसको सुक्ष्म अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।