राष्ट्रिय योग दिवस र मानसाग्नि हरि




  • नरनाथ पाण्डे –



सदाझैं यसवर्ष पनि नेपालमा यही माघ १ गते “राष्ट्रिय एकताः योगको सान्दर्भिकता” भन्ने नाराका साथ पाँचौं राष्ट्रिय योग दिवस मनाईंदै छ । योग दिवसको अवसरमा प्रत्येक वर्ष मनाउँदै आइरहेको योग दिवसको इतिहास के कस्तो छ र त्यसमा कस कसको मुख्य योगदान रहेको छ भन्ने सन्दर्भमा चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालमा मनाइने राष्ट्रिय योग दिवस हाल आएर एउटा पर्वको रुपमा स्थापित भएको छ र योग दिवसलाई विश्वभर समेत विश्व योग दिवस भनेर जुलाई १ तारिखका दिन विगतका वर्षहरुदेखि मनाउने गरिएको पनि छ ।
योग र योगदर्शन के हो, योगको प्रारम्भ कहिले देखि भएको हो, यसको विकास र प्रगतिका लागि के कस्ता प्रयास भएका छन्र नेपालमा योग दिवसकोसन्दर्भ समेत यस आलेखमा चर्चा गरिनेछ ।

योग र योगदर्शन :

योगको अर्थ जोड्नु भन्ने लाग्छ । वास्तवमा अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो भनिन्छ । पतञ्जलीको योग दर्शनमा भए अनुसार योग त्यो प्रयत्न हो, त्यो साधना वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रियलाई वशमा गरिन्छ । यसरी चित्तमा आउने विकार रोक्नु नै योग हो भनिन्छ । शरीर, इन्द्रिय, मन, बुद्धि र अहंकार माथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरुप पाउन सकिन्छ र त्यही शुद्ध स्वरुप प्राप्त गर्ने माध्यम नै योग हो । वेद, उपनिषद्, स्मृति र पुराणमा योगको उल्लेख पाइनुले योग प्राचिन ऋषि मुनिहरूको अनवरत तपस्या र साधनाबाट विकसित भएको हो भन्न सकिन्छ । त्यस्तै बुद्ध धर्मका पालित्रिपिटकहरूमा र प्राचिन संस्कृत ग्रन्थहरूमा पनि योगका चर्चा भएका छन् । जैनधर्ममा पनि महावीर स्वामी आफैं योगी थिए र उनको समयमा योगको विवेचना बढी भएको पाइन्छ । गोरखनाथको नाथ सम्प्रदायमा पनि योगको यति आदर गरिन्छ कि त्यस सम्प्रदायलाई योगी सम्प्रदाय भनिन्छ । यसरी योग हरेक धर्म र सम्प्रदायमा लोकप्रिय नै रहेको पाइन्छ ।
योगदर्शनका प्रतिपादक ऋषि पतञ्जली हुन् । त्यसैले योगदर्शनलाई पतञ्जली योग पनि भनिएको हो । भारतीय तथा पश्चिमाहरूले योगलाई योगा ९थ्यनब० भन्ने गर्छन् । योग दर्शन भारतीय दर्शन शास्त्रको एउटा अत्यन्त पुरानो शाखा हो, जसलाई व्यवस्थित रुप दिने काम ऋषि पतञ्जलीले गरेका हुन् । हाल स्वामी रामदेवले पतञ्जलीकै नामबाट योगलाई बढी लोकप्रिय गराउने काम गरेका छन् । त्यस्तै नेपालमा पनि विभिन्न योग सम्बन्धी संघ संस्था मार्फत योग कक्षा सञ्चालन भइरहेका छन् । जतिजति समाजको विकासको गति बढ्दै गइरहेको छ, त्यतित्यति नै योगको आवश्यकता पनि महसुस् हुँदै गइरहेको पाइन्छ । ५÷१० वर्ष अघिसम्म पश्चिमा विकसित देशहरूमा योगतर्फ थोरै मानिसको मात्र संलग्नता थियो जबकि आजको अवस्थामा धेरै विकसित देशका अधिकांश मानिसहरूले पनि योगलाई अपनाउन थालेका छन् । पश्चिमाहरुले पनि पूर्वीय दर्शनबाट आएको योगको वैज्ञानिक कारणहरु खोतल्दै, संस्कृत भाषाको अध्ययनगर्दै, रहस्यहरु बुझ्दै गहिरो अनुसन्धानमा लागेका छन् र हरेक दृष्टिकोणबाट योगलाई सही सावित गर्दै आइरहेका छन् । यसबाट पनि योग प्राचिन ऋषि मुनिहरुको कठोर लगावबाट मानवीय हितका लागि प्रार्दुभाव भएको कुरा बुझ्न सकिन्छ ।
योग दर्शनमा धर्म कर्मका लागि यज्ञ, यज्ञादि र पुजापाठको कुनै गुञ्जायस छैन । केवल यस दर्शनमा शारीरिक तथा मानसिक शक्तिको उचित प्रयोग गर्ने प्रेरणा पाइन्छ । यस दर्शनले स्वःअध्ययनका लागि प्रेरणा दिन्छ भने ईश्वरको ध्यान ईश्वर वाचक ॐ (ओउम्) को उच्चारण गरी चित्त एकाग्र गराउन भन्दछ । योग भारतीय मनिषीहरूको आध्यात्मिक चिन्तनको सारभूत तत्व हो भनिन्छ तापनि यो दर्शनले पूर्व तथा पश्चिमका सारा जगतहरूलाई जोड्ने काम गरेको छ । सबै किसिमका धर्म तथा सम्प्रदायले यसको अभ्यास गरेका हुनाले योगलाई सार्वभौम अभ्यास पनि भन्ने गरिन्छ । लगभग सबै खालका धर्म तथा दर्शनहरूमा योगाभ्यासको महत्व दिइएको हुनाले योग दर्शनको महत्व बढी छ । यस दर्शनमा आसन, यौगिक क्रिया, प्राणायाम तथा अन्य व्यायामहरूको माध्यमबाट आध्यात्मिक, मानसिक, संवेगात्मक तथा शारीरिक उपलब्धि पाउन सकिन्छ भन्ने कुराहरू दर्शाइएको छ ।
योग दर्शनले मुक्ति प्राप्तिका लागि ८ वटा मार्गहरू (अष्टाङ्ग योग) उल्लेख गरेको छ । ती हुन्

  • यम: हिंसा, चोरी, लोभ आदि नगर्नु अर्थात अहिंसा, सत्य, अस्तेय, ब्रम्हचर्य र अपरिग्रहका नियम पालना गर्नु ।
  • नियम: ५ नियमहरूको पालना गर्नु जस्तै–शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वरप्रति विश्वास गर्नु ।
  • आसन: मन एकाग्र गरी सुखासनमा बसी आनन्दको अनुभूति गर्नु ।
  • प्राणायाम: श्वास प्रश्वासलाई उचित परिचालन गरी यसलाई नियन्त्रण गरी मनलाई एकाग्र राख्नु ।
  • प्रत्याहार: इन्द्रियको कुप्रभाव मनमा पर्न नदिनु ।
  • धारण: अन्तरनिहित वस्तुको पहिचानमा मन लगाउनु ।
  • ध्यान: निश्चित विषयमा एकाग्रतापूर्वक सोंच विचार गर्नु ।
  • समाधि: सम्पूर्ण चेतनालाई खिचेर आत्मामा लिन गराउनु ।

उल्लेखित यस्ता उपायहरूद्वारा मुक्ति मिल्दछ भन्नु योगदर्शनको मुख्य मर्म हो ।

मानसाग्नि हरि को हुन् ?

नेपालमा योगको चर्चा गर्दा मानसाग्निको मुख्यचर्चा हुने गर्दछ । यसको बारेमा आम पाठकहरू अनभिज्ञ समेत हुनसक्ने भएकोले योग दिवसको पूर्व सन्ध्यामा मानसाग्निको बारेमा चर्चा गर्नु उत्तमर सम्मान समेत हुनेछ । शैवदार्शनिक विचार र साधनाबाट योगले विज्ञानको रुप लिएको र यस्तो दर्शनका प्रतिपादक महादेव अर्थात् शिवलाई मानिन्छ । नेपालमा मुख्य शिव सभ्यता, बुद्ध सभ्यता र जनक सभ्यताबाट विभिन्न दर्शनहरू आएका हुन् । यिनै दर्शनमा टेकेर आफूलाई साधक बनाई निरन्तर रुपमा यसै क्षेत्रमा लागि नेपालमा प्राकृतिक चिकित्सासँग जोडेर अघि बढाउने योग, आयुर्वेद र प्राकृतिक चिकित्साका विशेषज्ञ व्यक्तित्व मानसाग्नि हुनुहुन्छ । साधनाको नामबाट मानसाग्नि नामाकरण गर्नुभएका नेपालका प्राकृतिक चिकित्साकाजनक तथा योग र आयुर्वेदका प्रणेता डा. हरिप्रसाद पोखरेलको भिजन वा मिसन नै मानसाग्नि मिसनको नामबाट प्रचलित छ ।
आबाल ब्रह्माचारीका रुपमा रहनुभएका पाल्पाको मदन पोखरामा वि.सं. २०२० सालमा जन्मनु भएका मानसाग्नि हरि सोह्र वर्षको उमेरमै हरिप्रसाद पोखरेलबाट मानसाग्नि बन्नुभएको हो । मानसाग्निले नै वि.सं. २०३६ साल माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन नेपालमा योग संवत् घोषणा गरी विश्व योग दिवस मनाउनुपर्छ भनी उद्घोष गर्दै नेपालमा योगका क्षेत्रमा पुनर्जागरण प्रारम्भ गर्नुभएको हो । वास्तवमा मानसाग्निले अझै पनि योगको शुरुवात नेपालबाटै भएको हो, अनुसन्धान गरे हुन्छ भनेर दाबी समेत गर्दै आइरहनु भएको छ । योगमा शारीरिक शुद्धता भन्दा मानसिक शुद्धता धेरै गुणा उत्तम मानिने हुँदा यस्तो बहुउपयोगितापूर्ण योगलाई प्राकृतिक चिकित्सा र आयुर्वेदसँग जोडेर अतुलनिय योगदान मानसाग्नीले दिइरहनु भएको छ । २०३६ सालदेखि हालसम्मको निरन्तर उहाँको प्रयास, अथक परिश्रम र अविरल यात्राले चार दशक पुरा गर्न लाग्दा नेपालले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालेको छ । जुन कार्यक्रम राष्ट्रिय स्तरबाट गर्दा योगको सान्दर्भिकतानिकै बढेको मान्न सकिन्छ जसमा मानसाग्निको अतुलनीय योगदान रहेको छ ।
यसका साथै आयुर्वेद, योग र प्राकृतिक चिकित्साको क्षेत्रमा मानसाग्निको अथक प्रयासबाट शिक्षा क्षेत्रमा समेत पाठ्यक्रममा हालै योग सम्बन्धी विषय समेट्ने काम भएका छन् । ११ र १२ कक्षामा समेत योग सम्बन्धी विषयले प्रवेश पाएको छ । हाल त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा योग र प्राकृतिक चिकित्सा प्राध्यापन गर्ने पहिलो व्यक्तिको रुपमा समेत मानसाग्नि स्थापित हुनुभएको छ । आफूबाटै स्थापना गरेको काठमाडौंको भिमसेनगोलामा अवस्थित प्राकृतिक चिकित्सालयमा योग र प्राकृतिक चिकित्साको प्रयोगात्मक कक्षा समेत निःशुल्क सञ्चालन गर्दै आउनु भएको छ । यसरी गुरुकुल पद्धतिमा मात्र चलिरहेको योग र प्राकृतिक चिकित्सा शिक्षालाई विद्यालय र विश्वविद्यालयको ढाँचामा लागि औपचारिक शिक्षाका रुपमा नेपालमा पठनपाठन गराउने पद्धतिको शुरुवात गर्नु मानसाग्नि हरिको निकै ऐतिहासिक कदम हो, जसले गर्दा उहाँलाई निरन्तर स्मरण गराइरहने सुनिश्चितछ ।
यसरी प्रकृति प्रेमी मानसाग्निको बाल्यकाल देखिको यात्रा हाल साधना, शिक्षा, वाङ्मय, साहित्य र प्राकृतिक चिकित्सकका रुपमा उदाएको छ । दर्जनौं पुस्तक र ग्रन्थहरू प्रकाशित गरिसक्नु भएका र “राष्ट्रयोगी” लगायत दर्जनौं सम्मानबाट सम्मानित मानसाग्निको बहुप्रतिभाशाली व्यक्तित्वको जतिसुकै वर्णन गरे पनि सकिंदै नसकिने सामाजिक योगदानहरू छन् । अत्यन्तै सरल, सरस स्वभावका धनी र योग, प्राकृतिक चिकित्सा तथा आयुर्वेदका पप्र्याय आकर्षक व्यक्तित्व मानसाग्निको समीपमा मात्र जाने हो भने पनि उहाँको तेजस्वी नेत्र, मधुर मुस्कान एवम् मधुरो आवाजले जो कोहीलाई पनि आकर्षित गर्दछ । “जस्तो चिन्तन त्यस्तै चरित्र”को विलक्षण मेल मानसाग्निमै देख्न सकिन्छ । उहाँको “स्वधर्म” लगायतका दार्शनिक विचारको प्रचार प्रसारमा जुट्न सके आम नेपाली मात्र होइन विश्वभरका मानव समुदायलाई प्रेरणा मिल्न जाने देखिन्छ । मानसाग्निको यो अथकप्रयास अझै जारी रहोस् भन्ने कामना छ । यसरी नेपालमा राष्ट्रिय योग दिवस र मानसाग्नि हरि एक अर्काका परिपूरक हुन् भन्ने कुराको सहजै पुष्टि गर्न सकिन्छ ।

  • कावासोती–८, नवलपुर
    (लेखक मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती नवलपुरका प्राध्यापक र जीवनशैली परिवर्तनबारे विद्यावारिधिका शोधार्थी हुन् ।)


सम्बन्धित
Loading...