नारायणगढमा व्यवसायिक तालिम केन्द्रको शिलान्यास

रोटरी क्लब अफ चितवनको आयोजनामा चमेली देवी पिया राष्ट्रिय आधारभूत विद्यालयमा व्यवसायिक तालिम केन्द्र बन्ने भएको छ ।
रोटरी क्लब अफ चितवनले केन्द्रको शिलान्यास गरेको हो । कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जग पूजा गरी उक्त परियोजनाको शिलान्यास गरिन् । शिलान्यास गर्दै प्रमुख दाहालले रोटरीको हरेक परियोजनामा महानगरले पूर्णरुपमा साथ दिई अगाडि बढेको र आउने दिनमा यस्ता अरु परियोजनाहरुमा पनि पूर्ण साथ रहने पनि जानकारी गराइन् । रोटरी क्लब अफ चितवनका अध्यक्ष राजु पौडेलले अध्यक्षतामा भएको कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गर्भनर किरणलाल श्रेष्ठ, मुख्य दाता तथा रोटरी क्लब अफ चितवनका विशिष्ट सदस्य उदय कुमार पिया विशिष्ट अतिथिको रुपमा रहेका थिए ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नंं. ३ अध्यक्ष चन्द्रमित्र पण्डित, एसिष्टेन्ट गर्भनर जोन–२१का अनिल थपलिया, भरतपुर महानगरपालिका नगर शिक्षा प्रमुख सीताराम कोइराला, शिक्षा अधिकृत बाबुराम दवाडी, रोटरी क्लब अफ चितवनका पूर्वअध्यक्ष तथा एसिष्टेन्ट गर्भनर जोन–२३ चन्द्रमान श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकप्रसाद लामिछानेलगायत अन्य रोटरी क्लब तथा संघ संस्थाबाट आएका प्रतिनिधिहरु अतिथिको रुपमा रहेका थिए ।