कोरोनाबाट चीनमा १ सय ७० को मृत्यु, विश्व स्वास्थ्य संगठन आपतकालिन बैठक बस्दै


उत्तरी छिमेकी चीनमा यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ । यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलिदैछ । अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ । भाइरस फैलिएपछि विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिएको छ ।



कोरोना भाइरसका कारण चीनमा मात्रै १ सय ७० जनाको मृत्यु भइसकेको छ । चिनियाँ मिडियाका अनुसार अन्य देशले चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता लैजाने तयारी गरिरहेका छन् । सबैभन्दा धेरै मृत्यु वुहान र हुबेइ प्रान्तका आसपासका क्षेत्रमा भएको बताइएको छ । जहाँ थप ३७ जनाको मृत्यु भएको हो ।

साथै ७ हजार ७ सय ११ चिनियाँ नागरिकमा संक्रमण फैलिएको स्वास्थ्यकर्मीको तथ्यांक छ । हुबेइमा मात्रै नयाँ १ हजार ३२ नयाँ बिरामी पुष्टि भएका हुन् । र तिब्बतमा एकजना बिरामी भएको पुष्टि भएको छ । बिहीबारसम्म चीनका विभिन्न ३१ प्रान्तमा कोरोना भाइरस फैलिएको छ ।

विश्व स्वास्थ्य संगठनले सबै देशलाई यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । चीन बाहेक दर्जन भन्दा धेरै देशमा कोरोना फैलिसकेको छ । फिनल्याण्ड र दुबइमा समेत बुधबार कोरोना भेटिएको छ । कोरोनाकै कारण विश्व स्वास्थ्य संगठनको बिहीबार आपतकालिन बैठक बस्दैछ ।

कोरोना भाइरस भएको मानिस नेपाल नभित्रिन भनेर नाकाहरुमा र त्रिभुवन विमानस्थलमा कडा सुरक्षाको व्यवस्था गरिएको भएता पनि केही मानिसहरुमा यो भाइरस संक्रमण भएको खबर आइरहेको छ ।



सम्बन्धित
Loading...