विद्यार्थि कुटपिट गरेको भन्दै शिक्षक विरुद्ध प्रहरीमा उजुरी


विनयी त्रिवेणी गाउँपालिका–५ भानुदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने १६ वर्षीय बालक रेजन खाम्चालाई सोही विद्यालयका कम्पुटर शिक्षक शिव के.सी.ले माघ १४ गते कुटपिट गरेको भन्दै पीडित रेजनकी आमा बसन्ती खाम्चाले माघ २१ गते प्रहरीमा उजुरी दिनु भएको छ ।



शिक्षक के.सी.ले रेजनलाई गृहकार्य नगरेको भन्दै कुटपिट गरेको आमा बसन्तीले बताउनु भयो । “ रुघा खोकीले बिरामी भएपछि माघ १३ गते रेजन विद्यालय गएको थिएन । सन्चो भएपछि माघ १४ गते विद्यालय जाँदा सातौं घण्टीमा शिक्षक शिव के.सी.ले अघिल्लो दिनको होमर्वक खै भन्नु भएछ, छोराले कहिले होमर्वक भन्दा सरले पहिले लौरी र पछि हातले कुटपिट गर्नु भएछ ।” आमा बसन्तीले भन्नुभयो–“साँझ छोरा घर आउदा बाँया तर्फको कान सुन्निएको थियो ।”

माघ १५ गते बिहान सम्म पनि कान सुन्निन र दुख्न कम नभएपछि उपचारको लागि छोरालाई भरतपुर सामुदायिक अस्पताल चितवन लगेकोमा विशेषज्ञ संग जानुस् भनेपछि माघ १६ गते लम्बिनी अस्पताल एण्ड टेक्नीकल कलेज बुटवल, रुपन्देहीमा उपचारको लागि लगिएको आमा बसन्तीले बताउनु भयो । कुटपिटबाट छोराको कानको जाली चर्केको र कानमा रगत जमेको देखिएको उहाँले बताउनु भयो ।




घटनाबारे विद्यालय प्रशासनमा जानकारी गराई उपचारको लागि आग्रह गर्दा उल्टै विद्यालय प्रशासनबाट आफुहरुलाई अन्तै कतै उजुरी नगर्न भन्दै धम्की दिएको बसन्तीले बताउनु भएको छ । उहाँले छोरालाई कुटपिट गर्ने शिक्षक शिव के.सी.लाई कानुनी कारवाही गर्न माग गर्नु भएको थियो । साथै उहाँले आवश्यक सहयोग गर्नको लागि भन्दै इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा समेत माघ २१ निवेदन दिनु भएको छ ।

भानुदय माध्यमिक विद्यालयका प्रधानाध्यापक तेज प्रसाद भुसालले घटना भएको स्वीकार्दै आवश्यक छलफल र पीडित रेजनको उपचारको लागि आफुहरु तयार रहेको बताउनु भएको छ । घटना भएको दिन नै आफुलाई सो घटनाको विषयमा जानकारी प्राप्त भएको र माघ १९ गते घटनाको बिषयमा विद्यालयमा पीडित परिवार सहित छलफल गरेको उहाँले बताउनु भयो । पीडित पक्षले शिक्षकलाई बरर्खास्तीको माग गरेको हुँदा सहमति हुन नसकेको उहाँले बताउनु भयो । पीडित रेजनको परिवारले भने कुटपिट गर्ने शिक्षकलाई बर्खास्ती सहित कानुनि कारवाही गर्नु पर्ने माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का इन्स्पेक्टर गणेश बहादुर नराल क्षेत्रीले पीडित पक्षबाट प्रहरीमा निवेदन प्राप्त भएको र हाल घाउँजाचको लागि मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा पठाइएको जानकारी दिनु भयो । पीडित पक्षबाट प्राप्त निवेदनको आधारमा घटनाको छनविन भइरहेको भन्दै उहाँले कानुनी रुपमा अगाडी बढ्ने जानकारी दिनु भयो ।



सम्बन्धित
Loading...