बिहेको तयारी गर्दागर्दै प्रहरी पुगेपछि…
धनुषाको शहीदनगर नगरपालिका सिमराढीका अजय मुखियाको घरमा बिहेको तयारी चलिरहेको थियो । पाहुनाहरु पनि भेला भइसकेका थिए ।
ठीक त्यसैबेला बेहुलीपट्टिबाट खबर आयो– प्रहरीले बिहे रोकिदियो । सिरहाको कर्जन्हा नगरपालिका–६, वेतहाका रिझन मुखियाकी १५ वर्षीय छोरी रन्जुसँग उनको बिहेको कार्यक्रम थियो । बालविवाह भइरहेकाले रोकेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए ।
अजय र रन्जुको मात्रै होइन, गत एक सातामा बालविवाहको तयारीमा रहेको ३ जोडीलाई सिरहा प्रहरीले विवाहबाट रोकेको छ । सिरहाको कर्जन्हा नरपालिका–६ बेतहाका रिझन मुखियाकी १५ वर्षीय छोरी रन्जुको विवाह रोकिएको हो ।
उनको विवाह यदुकुहा नगरपालिका सिमराढी, धनुषाका अजय मुखियासँग हुन लागेको थियो । यो खबर पाउनासाथ इलाका प्रहरी कार्यालय मिर्चैयाको टोली गएर रोकेको छ ।
विवाहका तयारी भइरहेको अवस्थामा मिर्चैया नगरपालिका–५ का बोहरा मण्डलकी छोरीको विवाह पनि रोकिएको छ । विशेष सूचनाका आधारमा प्रहरी मण्डलको घर पुगेपछि उनको छोरीको उमेर नपुगेकाले विवाह रोकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सन्तुलाल जयसवारले बताए ।
प्रहरीले उनीहरूका अभिभावकलाई बालविवाह कानुनी रूपमा अपराध भएको र बालविवाह गराए कानुनी कारबाही हुने जनाएपछि बालविवाह नगर्न/नगराउन सहमत भएको बताए । बालविवाह हुन नदिने सहमतिपछि आवश्यक प्रक्रिया पुर्याएर घर पठाइएको जयसवारले बताए ।
नेपालको कानुनले २० वर्षभन्दा नपुगी विवाह गर्न बन्देज गरेको भए पनि तराईमा अझै बालविवाह रोकिएको छैन । बालविवाहविरुद्ध जनचेतना फैलाउँदै आएका सीआईसी जनकपुरधामका अध्यक्ष सञ्जय साहले प्रहरीको भूमिका प्रशंसनीय रहेको बताए । यसरी कडाइ गरेमा बालविवाह रोक्न धेरै समय नलाग्ने उनले बताए ।
उमेर पुगेपछि छोरीलाई भने जस्तो केटा नपाइने, केटा पाइहाले पनि धेरै दाइजो दिनुपर्ने त्रासका कारण सानै उमेरमा विवाह गरिदिने गरेको स्थानीयवासी बताउँछन् ।
पछिल्लो केही वर्षदेखि गाउँगाउँ, विद्यालयहरुमा पुगेर बालविवाहबाट हुने असर, त्यसले महिलामा पुग्ने कुप्रभावका विषयमा अभिभावक र बालबालिकामा सचेतना फैलाउँदा बालविवाहमा न्यूनीकरण भए पनि अझै समाप्त हुन सकेको छैन ।
रन्जुकी आमा सुनितादेवी मुखियाले आफूहरूलाई छोरीको विवाह गर्न २० वर्ष पुग्नैपर्छ भन्ने विषयमा जानकारी नभएको सुनाइन् । उनले भनिन्, ‘हामीलाई विवाहको लागि २० वर्ष पुग्नुपर्छ भन्ने थाहा थिएन, राम्रो घर पाएको र दहेज पनि नलिने भएपछि छोरीको विवाह गर्न लागेका थियौँ ।’
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा १० देखि १९ वर्ष उमेर समूहका किशोर किशोरीको जनसंख्या करिब २४ प्रतिशत अर्थात ६४ लाखको हाराहारी छ, जसमा किशोरीको संख्या मात्रै ३२ लाख ६४ हजार छ ।
नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण सन २०११ का अनुसार ती किशोरीमध्ये ४० प्रतिशत अर्थात् करिब १३ लाख किशोरीहरूको १९ वर्ष अगाडि नै विवाह हुने गरेको छ भने करिब १७ प्रतिशत अर्थात् साढे ५ लाख किशोरीहरू १९ वर्ष नपुग्दै आमा बनिसकेका हुन्छन् ।
तथ्यांक हेर्दा नेपालका ती किशोरी मध्ये ७५ प्रतिशत किशोरी आमाहरुले कुनै न कुनै स्वास्थ्य समस्या भोग्दै आएका छन् भने ६ प्रतिशतले परिवार नियोजनको साधन प्रयोग गर्दैनन् ।
३५ प्रतिशत किशोरीहरुले विवाहको कारण पढ्न छाड्ने गरेका छन् । पहिलेको मध्यमान्चल क्षेत्रमा १० वर्षभन्दा कम उमेरमा विवाह गर्नेहरुको संख्या ४७ हजार ९२ छ भने १० देखि १४ वर्षको उमेरमा विवाह गर्नेको संख्या ४ लाख ९७ हजार ५ सय ३ रहेको पछिल्लो जनगणनाको तथ्यांकले देखाएको छ ।
त्यसमा मध्य तराईका धनुषा, महोत्तरी, सिरहा, बारा, पर्सा, रौतहटलगायतका जिल्लाहरूमा बालविवाह बढी हुने गरेको छ ।