कोभिड–१९ : चीनमा मृत्यु हुनेको संख्या १५ सय पुग्यो, जापानमा पनि एक जनाको मृत्यु




चीनमा कोरोना अर्थात् कोभिड–१९ भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै १५ सय पुगेको छ। त्यहाँका स्वास्थ्य अधिकारीहरुले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार हिजो मात्रै हुबेई प्रान्तमा १ सय १६ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १४ सय ८३ पुगेको हो।  हुबेईमा ४ हजार ८ सय २३ जना नयाँ संक्रमित भेटिएका छन्।

संक्रमण पुष्टि भएर अहिले झण्डै ५२ हजार मानिसले उपचार गराइरहेका छन्। अधिकारीहरुका अनुसार संक्रमितको संख्या ६५ हजार छ, जसमध्ये झण्डै १३ हजार मानिस उपचारपछि घर फर्किएका छन्। हुबेईको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण झण्डै २५ देशमा फैलिएको छ।




चीन बाहिर भने हङकङ, फिलिपिन्स र जापानमा १–१ जनाको मृत्यु भएको छ। यसैबीच अमेरिकाले उत्तर कोरियामा पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै चासो व्यक्त गरेको छ। कतिपय खुला सीमाका कारण चीनबाट उत्तर कोरियामा कोरोना भाइरस फैलिन सक्ने भन्दै अमेरिकाले चासो व्यक्त गरेको हो।

ह्वाईट हाउसका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा अमेरिका कुनै पनि प्रकारको सहयोगका लागि तयार रहेको समेत बताइएको छ।

 



सम्बन्धित
Loading...