पहिलेकै अवस्थामा फर्किन प्रधानमन्त्रीलाई ६ महिना लाग्ने




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण मानिसझैं पहिलेकै अवस्थामा फर्किन कम्तीमा ६ महिना लाग्ने प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएपछि आराम गरिरहेका प्रधानमन्त्री ओली चिकित्सकको निगरानीमा छन् । यद्यपि, डिस्चार्जपछि प्रधानमन्त्री निवास बालुवाटारमा चिकित्सकको निगरानीमा बसेर उनले पदीय दायित्वअनुसारको काम गर्न सक्ने चिकित्सकको भनाइ छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीलाई साधारण नागरिक जत्तिकै सक्रिय हुन अझै ६ महिना लाग्छ । ‘पहिलो एक महिना उहाँलाई औषधिको बढी डोज भएकाले संक्रमणको सम्भावना रहन्छ त्यसैले भीडभाडमा जानु जोखिम हुन्छ । ६ महिनापछि भने साधारण मान्छेझैं सक्रिय रूपमा जीवन बिताउन सक्नुहुन्छ,’ प्रा. डा. शाहले भनिन् ।

प्रधानमन्त्री ओलीले डिस्चार्जपछि दैनिक कार्यहरू सचिवालयबाटै गर्न मिल्ने उपचारमा संलग्न चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार पारिवारिक निर्णयपछि प्रधानमन्त्री ओलीलाई डिस्चार्जको तयारी थालिनेछ ।

डिस्चार्ज गर्दा फरक नपर्ने भए पनि घरमा आवश्यक व्यवस्थापनको तयारी पूरा नभएकाले केही समय अस्पताल बसाइ लम्बिएको मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्रा.डा. शाहले जानकारी दिइन् । ‘घरमा पनि तयारी गर्नुपर्ने हुन्छ । तयारी अझै पूरा भइसकेको छैन । घरबाट पनि एक–दुई दिन अझै राखिदिनुहोस् भनेर रिक्वेस्ट आएको छ । यद्यपि, प्रधानमन्त्रीे अस्पतालबाट छिटो डिस्चार्ज हुन चाहेका छन्,’ उनले भनिन् ।



सम्बन्धित
Loading...