छोरा ‘मार्न’ बन्चरो लिएर दरबार छिरेका दक्षिण अफ्रिकाका राजा गिरफ्तार


दक्षिण अफ्रिकाका राजा तथा नेल्सन मन्डेलाका भतीजालाई बन्चरो लिएर दरबारमा हंगामा गरेको आरोपमा गिरफ्तार गरिएको छ ।



राजा बुयेलेखाया दालिंदयेबो गत वर्ष डिसेम्बरमा प्यारोलमा जेलबाट बाहिर आएका थिए । शुक्रबार बिहान उनी बन्चरो लिएर थुम्बु रोयल प्यालेसमा पसे ।

प्रत्यक्षदर्शीका अनुसार उनी आफ्ना छोराको खोजीमा थिए, जसलाई उनी जेलमा रहेका बेला कार्यवाहक राजा घोषित गरिएको थियो ।




उनका छोरा झ्यालबाट फाल हानेर भाग्न सफल भए पनि उनकी पत्नी भने घाइते भएकी शाही प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

अपहरण, उत्पीडन र आगजनीको घटनामा दोषी पाइएपछि राजा बुयेलेखायालाई १२ वर्षको जेल सजाय सुनाइएको थियो । तर, राष्ट्रपतिले गत वर्ष बुयेलेखायासहित केही कैदीलाई प्यारोल दिने फैसला गरेका थिए ।

राष्ट्रपतिको यो निर्णयसँगै चार वर्ष जेल बसेका बुयेलेखाया बाहिर आएका थिए ।

सन् १९९४ मा गोरा–अल्पसंख्यक शासनको अन्त्य भएपछि कुनै अपराधमा दोषी ठहर भई जेल जाने उनी पहिलो दक्षिण अफ्रिकी शासक थिए ।

राजपरिवारमा तनाव

५६ वर्षीय बुयेलेखाया थेम्बू समुदायका हुन् । दक्षिण अफ्रिकाका पहिलो ‘काला राष्ट्रपति’ नेल्सन मन्डेला पनि यही समुदायका थिए ।

अफ्रिकामा सात आधिकारिक रूपमा घोषित शासक छन् जसले अलग–अलग जाति समूह र समुदायको अगुवाई गर्छन् ।

राजा बुयेलेखाया जेलबाट बाहिर आएदेखि नै थेम्बु राजपरिवारमा तनाव बढेको थियो ।

उनले आफ्ना छोरा एवम् कार्यवाहक राजा अजेनाथी जेनेलिज्वे दालिंदयेबोसँग भेट गर्नसमेत अस्वीकार गरेका थिए ।

दक्षिण अफ्रिकाको सिटी प्रेस पेपरको रिपोर्टअनुसार, गत महिना शाही परिवारले अजेनाथीलाई थप एक वर्ष राजाकै रूपमा राख्ने तय गरेको थियो ।

शाही प्रवक्ता प्रिन्स सिगानयेको दालिंदयेबोले राजा बुयेखाया शुक्रबार स्थानीय समयअनुसार रातको तीन बजे पूर्व केप प्रान्तस्थित प्यालेसमा पसेका बताए ।

उनले सरकारी टिभी च्यानल एसएबीसीलाई भनेका छन्, ‘उहाँ बन्चरो र धारिलो हतियार लिएर घुमिरहनु भएको थियो । बैठक कोठाको एउटा झ्याल तोड्न सफल भएपछि त्यसैबाट उहाँ भित्र छिर्नुभएको थियो । कार्यबाहक राजालाई खोज्दै उहाँ सिँढीबाट माथि जाँदै हुनुहुन्थ्यो । केही व्यक्तिले उहाँको ध्यान अन्तै मोड्ने प्रयास गरे । यसै क्रममा कार्यवाहक राजा एउटा झ्यालबाट फाल हानेर सुरक्षित रूपमा भाग्न सफल हुनुभयो ।’

उनका अनुुसार प्यालेसमा राजाले हंगामा मच्चाए । कार्यवाहक राजाको कोठामा तोडफोड सुरु गरे । केही गोप्य दस्तावेजसमेत फ्याँकिदिए ।

घटनाको भिडियो फुटेजमा देख्न सकिन्छ कि निकै निराश देखिएका राजा बुयेलेखाया प्यालेस बाहिर उभिएर चुरोट तानिरहेका थिए । आफूलाई गिरफ्तार गर्न उनले प्रहरीलाई चुनौती पनि दिइरहेका थिए । अन्ततः उनलाई प्रहरीले गिरफ्तार गर्‍यो ।

राजा बुयेलेखायालाई सन् २०१८ मा जेल पठाइएको थियो । उनी सन् १९९० को दशकमा भएको उत्पीडनको आरोपमा दोषी पाइएका थिए ।

उनले एक महिला र उसका ६ बच्चालाई अपहरण गरेका थिए, ती महिलाको घरमा आगो लगाइदिएका थिए भने चार युवालाई कुटपिट गरेका थिए । पिटएकामध्ये एक जनाको मृत्यु भएको थियो । उनीहरूका एक नातेदार अदालतमा पेस नभएको भन्दै राजाले यस्तो गरेका थिए ।



सम्बन्धित
Loading...