धनुषामा मदिरा सेवनले मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म ६ गरी मृत्युहुनेको सो सङ्ख्या पुगेको जनाइएको छ ।
होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएपछि स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक साताअघि मृत्यु भएका पाँचको विषाक्त मदिरा सेवनबाट नै भएको आशङ्का गरिएको छ ।
अवैध मदिरा बिक्री गरेको अभियोगमा स्थानीय रामानन्द साह र एक महिलालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरिएको जनाइएको छ । अहिले पुरै गाउँ शोकमा डुवेको छ । आर्थिक रुपले विपन्न परिवारका व्यक्तिको मृत्यु भएको जनाइएको छ ।