कोरोना संक्रमणविरुद्ध गण्डकी प्रदेशको तयारी

पोखरा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध गण्डकी प्रदेश उच्च सतर्कता अपनाइएको छ । प्रदेश राजधानी पोखरा क्षेत्रका अस्पतालमा १ सय वटा आइसोलेसन बार्ड तयार पारिएको छ भने आवश्यक तयारीका लागि मुख्यमन्त्री संयोजक रहने गरी उच्चस्तरीय निर्देशन समिति, प्रमुख सचिव संयोजकत्वमा प्रदेशस्तरीय समन्वय समिति लगायत विभिन्न १० विषयगत समिति गठन गरिएको छ ।
यस्तै क्वारेन्टाइन स्थलको व्यवस्थापनका लागि स्थान खोजी, उद्धार कार्यका लागि एम्बुलेन्स व्यवस्थापन जस्ता आवश्यक तयारी सकिएको छ भने सम्बन्धित समितिका संयोजकले तोकिएको जिम्मेवारी पूरा गर्न सम्बन्धित क्षेत्रमा दत्तचित्त भइ काम गरेको दाबी गरेका छन् ।
गण्डकी प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथामको पूर्व तयारीबारे शनिबार पत्रकार सम्मेलन गर्दै पछिल्ला दिनमा सामाजिक संजालमा विविध किसिमका भ्रमपूर्ण सूचना तथा जानकारी प्रवाह भइरहेकोमा आपत्ति जनाउँदै यसले सर्वसाधारणमा भय तथा संशय उत्पन्न हुने हुँदा समाचार सम्पे्रषणमा अत्यन्तै सचेत र सजग हुनु पत्रकारलाई आग्रह गरेको छ ।
गण्डकी प्रदेश हालसम्म कोरोनाबाट प्रभावित नभएको र यदि छिरिहाले पनि सोको व्यवस्थापनका लागि प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले दाबी गरे । उनले प्रदेश सरकारलाई बजेट अभाव नरहेको दाबी गर्दै सरकारले कोरोनाविरुद्ध लड्न १ अर्ब रुपैयाँ निकास गर्न सक्ने क्षमता रहेको बताए । उनले प्रदेशमा खाद्यान्न लगायत अत्यवश्यक बस्तु आपूर्ति र वितरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।
५ जनाको नमूना संकलन, २ को नतिजा नेगेटिभ
पोखरा क्षेत्रका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये कोरोनाको आशंका गरिएकामध्ये ५ जनाको नमुना संकलन गरी केन्द्रमा पठाइएकोमा २ जनाको नतिजा नेगेटिभ आएको छ । बाँकी ३ जनाको नमुना आउन बाँकी छ । नमुना संकलन गरिएका ५ मध्ये १ जना महिला हुन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पोखराको मणिपाल शिक्षण अस्पताल र फिस्टेल अस्पतालमा उपचारार्थ आएका बिरामीमध्ये २ जनाको संकलित नमुना नेगेटिभ आएको हो ।
यस्तै, बाँकी ३ जनामध्ये म्याग्दी जिल्ला अस्पताल र पोखराको सिभिक अस्पतालबाट १–१ जनाको नमुना २ दिनअघि काठमाडौंस्थित जनस्वास्थ्य प्रशायोगशालामा पठाइएको छ भने लायन्स सामुदायिक अस्पतालबाट एक जना विदेशी महिलाको शुक्रबारमात्र नमुना संकलन गरिएकोमा आज (शनिबार) मात्र काठमाडौं पठाउने तयारी भएको डा. शर्माले जानकारी दिए । संकलित नमुनाको रिपोर्टअनुसार अहिलेसम्मको अवस्था सन्तोषजनक रहेकोले आत्तिनुनपर्ने भन्दै उनले आश्वासन दिए ।
५ अस्पतालमा १ सय आइसोलेसन बार्ड
यहाँका विभिन्न ५ अस्पतालमा १ सय वटा आइसोलेसन बार्ड तयार पारिएको छ । चरक मेमोरियल अस्पतालमा ३०, तनहुँको जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ३०, पोखराको मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा १० गरी कुल १० वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको हो ।
यस्तै, पोखराका ५० बेडभन्दा बढीका सबै सरकारी तथा निजी अस्पतालमा आफ्नै बजेट÷स्रोतमा कम्तीमा ५ बेडको आइसोलसन बार्ड तत्काल स्थापना गर्न र कम्तीमा १० थान पसर्नल प्रोटेक्सन इक्प्युमेन्ट (पीपीई) सेट तयार राखी व्यवस्थापन गर्न मुख्यमन्त्री संयोजक रहेको उच्चस्तरीय निर्देशन समितिले निर्देशन दिइसकेको छ । सोको लागि सम्बन्धित अस्पतालले तयारी सुरु गरिसकेको सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिइन् । यस्तै, ल्यावमा कार्यरत ३० जना कर्मचारीलाई तालिम दिइएको छ ।
स्वास्थ्य तालिम केन्द्रमा क्वारेन्टाइन
क्वारेन्टाइन होमका लागि स्वास्थ्य तालिम केन्द्र, पोखरालाई पहिलो चरणमा उपयोगका लागि उपयुक्त ठहर गरिएको छ ।प्रदेशस्तरीय समन्वय समितिको बैठकले स्वास्थ्य तालिम केन्द्रलाई क्वारेन्टाइन होमको रुपमा विकास गर्ने निर्णय गरेको हो ।यस्तै, बैठकले शिक्षा, वन, कृषि, भेटेरिनरी तालिम केन्द्रहरुलाई क्वारेन्टाइन होमको रुपमा प्रयोग गर्न तयारी अवस्थामा राख्न आग्रह गर्ने निर्णय गरेको छ ।
लेखनाथस्थित लायन्स कलब शिशुवा सामुदायिक अस्पताललाई ५० बेडको डेडिकेटेड आइसोलेसन अस्पतालका रुपमा प्रयोग गरी तयारी अवस्थामा राख्ने भएको छ । हाल ६२ वटा पीपीए मौज्दात रहे पनि भोलिका दिनमा कोरोना छिरिहाले सोको व्यवस्थापनका लागि ५ सय थान पीपीई, ५ सय थान इन्फ्रारेड थर्मोमिटर, २० हजार थान मास्क, १ सय लिटरका सेनिटाइजर र डिसीन्फेक्टेन्ट उपलब्ध गराउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
नाका नाकामा हेल्प डेस्क खोलिने
गण्डकी प्रदेशमा हवाई तथा स्थलमार्ग हुँदै प्रवेश गर्नेहरुको स्वास्थ्य चेकजाँच प्रक्रियाका लागि ९ वटा हेल्प हेस्क खोलिने भएको छ । हवाई मार्ग हुँदै पोखरा भित्रिनेहरुको लागि पोखरा विमानस्थल र मुस्ताङको लोमान्थाङमा हाल हेल्प डेस्क संचालन गरिएकोमा प्रदेशभरका विभिन्न जिल्लामा समेत सो विस्तार गरिने तयारी रहेको डा. शर्माले जनाए ।
उनका अनुसार त्रिवेणी, दाउन्ने, गैँडाकोट, नवलपुर, तनहुँको मुग्लिङ, आबुखैरेनी, गोरखाको आरुघाट, बागलुङको बुर्तिवाङ, स्याङ्जाको गल्याङ समेत हेल्प डेस्क खोलिने भएको हो । पोखरा महानगरपालिका स्वास्थ्य सेवा महाशाखाल पनि विभिन्न ठाउँमा हेल्थ डेस्क स्थापना तयारी गरेको जनाइएको छ । मुग्लिङ, आबुखैरेनी, गल्याङमा संचालित हेल्प डेस्कले भारतबाट प्रवेश गरी आउने सवारीसाधनलाई विशेष निगरानीका साथ चेकजाँच गरिने भएको छ ।
स्वास्थ्य मानिसले मास्क लगाउनु नपर्ने
छाती रोग विशेषज्ञ डा. सीबी आचार्यले स्वास्थ्य मानिसले मास्क लगाउनु नपर्ने बताएका छन् । कार्यक्रमबीच उनले कोरोनाको त्रास धेरैले मास्क लगाएको पाइएको भन्दै यो आवश्यक नभएको बताए । ‘रुघाखोकी लागेकोले मात्र मास्क लगाए हुन्छ, अनावश्यक पैसाको दुरुपयोग गरिरहेका छौं । मैले आफ्नै छोरीलाई मास्क लगाइदिएको छैन,’ उनले भने ।
निर्माणाधीन पोखरा विमानस्थल सुरक्षित
निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हालसम्म कोरोनाबाट मुक्त रहेकोले त्रसित हुनुनपर्ने अवस्था नरहेको बताइएको छ । विमानस्थलमा कार्यरत ७१ जना चिनियाँ कामदारलाई क्वारेन्टाइनमा राखिएको र उनीहरुको नियमित परीक्षणमा अवस्था सामान्य रहेको पाइएको छ । उनीहरुको दैनिक ३ पटकसम्म ज्वरो नभ नभएको तापक्रम लिने गरिएको र १० दिनसम्मको क्वारेन्टाइनमा लक्षण नदेखिए काममा फर्किने छन् । तर केही दिन अघि सामाजिक सञ्जालमा चिनियाँ कामदारमा कोरोना लागेको भन्दै त्यहाँ कार्यरत केही नेपाली कामदारले काम छोडेर घर फर्किएका थिए ।
– राजधानी दैनिकबाट