चितवनमा तयार भयो ७० शैयाको कोरोना विशेष अस्पताल




घोषणा गरेको ७२ घण्टाभित्र चितवनको भरतपुरमा कोरोना विशेष अस्तपाल निर्माण गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका बिरामीको उपचार गर्न चितवनको भरतपुरमा ७० शैयाको अस्थायी अस्पतालको निर्माण गरिएको हो । भरतपुरमा रहेको चितवन प्रदर्शनी केन्द्रमा कोरोना विशेष प्रकृतिको अस्थायी अस्पताल निर्माण गरिएको हो ।




कोरोना भाइरसको संक्रमणको आशंका भएका र परीक्षणपछि संक्रमण देखिएका बिरामीहरुलाई उपचार गर्नकालागि गत मंगलबार भरतपुर महानगरपालिका र जिल्लाका सरोकारवालाहरुको बैठकले अस्पताल बनाउने निर्णय गरेको थियो । अस्पतालमा १० बेडको आईसीयु, १० बेडको एचडीयु र ५० बेडको जनरल वार्ड रहने छ ।

शुक्रबारसम्म जनरल वार्डको निर्माण सम्पन्न भइसकेको र अबको दुई दिनमा आइसियु र एचडीयु निर्माणको काम सम्पन्न हुने अस्पताल व्यवस्थापन समितिका संयोजक डा. भोजराज अधिकारीले बताए । आइसीयु र एचडीयु निर्माण सम्पन्न नभए पनि अस्पतालले बिरामीलाई उपचार सेवा दिन सक्ने उनले बताए ।

शुक्रबार नै बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले ७० शैयाको उक्त अस्थायी अस्तपालले सेवा आरम्भ गरेको घोषणा गरे ।



सम्बन्धित
Loading...