स्यानिटाइजर र साबुनपानी प्रयोग विधि
कोभिड–१९ संक्रमणले मानिसलाई स्वास्थप्रति अझ चेतनशील हुने अवसर दिएको छ । घरमा रहँदा साबुनपानीले हात धुनु सबैभन्दा उपयुक्त रहन्छ । घरबाहिर रहँदा सबै ठाउँमा साबुनपानी उपलब्ध नहुने अवस्थामा स्यानिटाइजरको प्रयोग ठीक हुन्छ । स्यानिटाइजरले सफा राख्नेभन्दा पनि हातमा नदेखिने किटाणु–जीवाणुलाई हटाउने काम गर्छ । अल्कोहलको मात्रा औसतमा ६० प्रतिशत भएको स्यानिटाइजरको प्रयोग उपयुक्त हुन्छ । अहिले रसायनयुक्त स्यानिटाइजर दैनिकी बन्न थालेका छन् । यस्ता प्रयोग गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । अब जानौँ स्यानिटाइजर प्रयोग विधि :
-स्यानिटाइजरलाई बच्चाहरूको पहुँचबाट टाढा राख्नुपर्छ । दुई वर्षभन्दा मुनिका बच्चाका लागि स्यानिटाइजरको प्रयोग गर्न हुन्न ।
-अनुहार वा मुखमा स्यानिटाइजर लगाउनुहुँदैन । सामान्यदेखि अल्कोहलयुक्त स्यानिटाइजरमा हुने रसायनिक तत्वले अनुहारमा हानि पुर्याउन सक्छ ।
-अल्कोहलको मात्र ज्यादा भएका स्यानिटाइजर प्रज्ज्वलनशील हुन्छन् । यसकारण ग्यास तथा आगोनजिक काम गर्नु खतरापूर्ण हुन सक्छ ।
-प्रायः मानिस साबुनपानीको सट्टामा स्यानिटाइजर प्रयोग गर्छन्, जुन गलत हो । बस, सार्वजनिक शौचालय, होटेल, रेस्टुराँ, अफिस आदिका सामानमा पनि स्यानिटाइजर प्रयोग गर्न सकिन्छ ।
-खोक्दा, रुघा लाग्दा, हाच्छिउँ गर्दा स्यानिटाइजर प्रयोग गर्नु उचित हुन्छ ।
-हातमा लगाएको स्यानिटाइजर कपडामा पुछ्न हुँदैन । यसलाई सुक्न दिनुपर्छ ।
साबुनपानीले कतिवेला हात धुने ?
-बिरामीको सम्पर्कमा आएपछि साबुनपानीले हात धुन अनिवार्य छ ।
-स्यानिटाइजर रसायनयुक्त हुन्छ । त्यसैले, खाना खाने समयमा प्रयोग गर्नुहुँदैन । यस्तोवेला साबुनपानीको प्रयोग उचित हुन्छ ।
-दिसा–पिसाब र बच्चाको डाइपर परिवर्तन गरेपछि हातका किटाणु मार्न साबुनपानी नै उपयुक्त हुन्छ । साथै, हातखुट्टा फोहोर हुँदा पनि ।
