देबचुलीको फुड बैंकमा ६ लाख ८२ हजार १० रुपैंया वरावरको नगद तथा जिन्सी जम्मा

खगेन्द्र पराजुली,
२१ चैत्र, नवलपुर ।
देबचुली नगरपालिकाले आपतकालीन अवस्थामा स्थापना गरेको खाद्य बैंकमा बिहीवारसम्म ६ लाख ८२ हजार १० रुपैंया नगद तथा जिन्सी जम्मा भएको छ ।
नेपालमा पनि कोरोना भाईरस संक्रमणको खतरा बढ्न सक्ने परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले २ चरणमा जारी गरेको लकडाउनपश्चात् दैनिक मजदुर भर पर्ने तथा बिपन्न नागरीकको जिबिकोपार्जनमा प्रभाव पर्नसक्ने अवस्थालाई ध्यानमा राखी देबचुली नगरपालिकाले खडा गरेको खाद्य बैंकमा बिभिन्न संघ–संस्था, ब्यक्तिबाट प्राप्त नगद तथा जिन्सी सामाग्रीलाई समेत खरीद मुल्यका आधारमा नगदमा परिणत गरी ६ लाख ८२ हजार १० रुपैंया बरावरको सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले राखेको अभिलेखमा बिहीवारसम्म १८ वटा क्रमसंख्यामा सहयोग प्राप्त भएको छ । जसमा संस्थागत रुपमा १० वटा संस्थावाट, ५ वटा उद्योगबाट र ३ जना ब्यक्तिले सहयोग गरेका छन् ।
सहयोग गर्ने संस्थाहरुमा देबचुली उद्योग बाणिज्य संघले १ लाख, जागृति बाल तथा युवा सरोकार नेपाल तथा कन्नालानले संयुक्त रुपमा १ लाख, नेशनल मोडल साईन्स स्कुल एवं सेण्ट जोसेफ स्कुल कावासोतीले ४० हजार, दलित संघ नवलपुरले ६ हजार ५ रुपैंया, गुरुप्रसाद गौतम स्मृति प्रतिष्ठानले ५४ हजार, नेपाल मातृभूमी च्यारिटेबल ट्रष्टले २० हजार, पिप्रहर सामुदायिक होमस्टेले ५ हजार ५ सय, शिसवार मध्यवर्ती उपभोक्ता समितिले १ लाख २ हजार ५ रुपैंया, प्याब्सन देबचुलीले १ लाख र बिश्वज्योति बोर्डिङ स्कुलले ३० हजार रुपैंया बरावरको नगद एवं खाद्य सामग्री नगरपालिकामा बिभिन्न माध्यमवाट उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै, उद्योगतर्फ माता मनकामना ईटा उद्योगले २२ हजार, पशुपति ईटा उद्योगले ११ हजार ५ सय, नारायणी ईटा उद्योगले २२ हजार, सिजी फुड्सले ४० हजार बरावरको ५ सय केजी भुजिया, ब्राउन बर्ड ह्याचरी प्रालिले ५ हजार बरावरको २१ क्यारेट अण्डा उपलब्ध गराएको नगरपालिकाको अभिलेखमा उल्लेख छ ।
देबचुली २ का वडा सचिव बिश्वबन्धु न्यौपानेले २ हजार ५ सय, वडा नम्वर १० का वडा सचिव रेनुका चालिसेले २ हजार ५ सय र देबचुली ४ का बासिन्दा अर्जुनबहादुर घिमिरेले १८ हजार रुपैया ब्यक्तिगत रुपमा सहयोग गर्नुभएको नगरपालिकाले जनाएको छ ।
देबचुलीमा राहतः कहाँ कति ?
देबचुली नगरपालिकामा स्थापित खाद्य बैंकमा संकलित खाद्य सामग्री वडा नम्वर १० र १५ र ५ को मिर्तुङ गाउँ बाहेक सबै वडामा बाडिएको सम्वन्धित वडाध्यक्षहरुले जनाएका छन् ।
बिभिन्न संघसंस्था तथा ब्यक्तिले खाद्य बैंकमा जम्मा गरेको राहत सामाग्री र नगरपालिकाले खरिद गरी ल्याएको २५ केजी तौलको ५ सय बोरा चामल समेत गरी बितरण गरिएको नगरपालिका स्रोतले जनाएको छ ।
देबचुली नगरपालिकाको वडा नम्वर १ मा ६१ घरपरिवारका २२४ जनालाई खाद्य बस्तु बितरण गरिएको वडा नम्वर १ का वडाध्यक्षले बताउनुभयो । १ नम्वरमा ५ केजीको २३ बोरा चामल बरावर १ हजार १ सय ५० केजी चामल, ६५ केजी दाल, ६५ केजी नून बितरण भएको छ ।
वडा नम्वर २ मा १०७ घरपरिवारका ४९२ जनालाई खाद्य सामाग्री बितरण गरेको २ नम्वर वडाका वडाध्यक्षले जानकारी दिनुभयो । २ नम्वरमा २५ केजीको ९७ बोरा २ हजार ४ सय २५ केजी चामल, १ सय केजी दाल र १ सय केजी नून बितरण भएको जनाईएको छ ।
देबचुलीको वडा नम्वर ३ मा ५० परिवारका २ सय जनालाई राहत प्याकेज बितरण गर्दा १ हजार किलो चामल ५० किलो दाल र ५० किलो नून प्रदान गरेको वडा नम्वर ३ का वडाध्यक्षले बताउनुभयो ।
वडा नम्वर ४ का वडाध्यक्षका अनुसार वडाका ९६ परिवारका ३ सय ८२ जनालाई खाद्य सामाग्री बितरण गर्दा १ हजार ९ सय किलो चामल, १ सय किलो दाल र १ सय किलो नून वडाभित्रका दैनिक ज्यालादारीमा आश्रित तथा बिपन्नलाई बाडिएको छ ।
देबचुली ५ मा भने २५ किलोको ८० वोरा २ हजार किलो चामल र १ सय किलो दाल र १ सय किलो नून वडामा पठाएको देबचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशम सापकोटाले जानकारी गर्नुभएको छ ।
वडा नम्वर ५ का अध्यक्षका अनुसार वडामा १ सय ५ परिवारको तथ्याङ्क संकलन भएकाले सोही अनुसार बितरण गर्ने बताउनुभयो ।
वडा नम्वर ६ का वडाध्यक्षका अनुसार १९ परिवारका ७१ ज्नाका लागी ३ सय ५० केजी चामल, १८–१८ केजी दाल र नून बितरण गरिएको छ ।
देबचुली ७ मा ६५ परिवारका २ सय ५ जनाका लागी १ हजार २५ केजी चामल, ६५–६५ केजी दाल र नून बितरण गरेको वडाअध्यक्षले जनाउनुभएको छ ।
वडा नम्वर ८ का वडाध्यक्षका अनुसार जम्मा १२ परिवारका ५५ जनालाई २ सय ७५ केजी चामल र १२–१२ केजी दाल, नून बाडिएको हो ।
त्यस्तै वडा नम्वर नौ का १ सय ८ परिवारमध्ये ५६ परिवारलाई मात्र खाद्य सामाग्री बितरण गरिएको ९ नं. वडाका अध्यक्षले जानकारी दिनुभयो । वडामा २५ केजीको ४८ बोरा बरावर १ हजार २ सय केजी चामल, ६० किलो नून र ६० किलो दाल बाडिएको छ । आफु खाद्य सामाग्री लिन जाँदा मौज्दात खाद्यान्न नभएकाले छुटेकालाई तत्काल ब्यवस्थापन गरिने बताउनुभयो ।
यस्तै, वडा नम्वर ११ मा ५८ परिवारका ४ सय १० जनाका लागी ५० केजीको २१ बोरा १ हजार ५० किलो चामल, ६५ किलो नून र ६५ किलो दाल बितरणका लागी लगिसकेको वडाध्यक्षले बताउनुभएको छ ।
वडा नम्वर १२ ले ६७ परिवार तथा ९ जना बुटबल हेटौडा ग्रीड प्रसारण लाईनका मजदुरलाई खाद्य सामाग्री बितरण गरेको छ ।
वडा नम्वर १३ का वडाअध्यक्षका अनुसार वडाका स्थायी ५५ प्रतिसत र अन्यन्त्रबाट आई भाडामा बस्ने गरेका ४५ प्रतिसत परिवारलाई चुल्हो बाल्नकै लागी खाद्य सामाग्री बितरण गर्नुपरेको बताउँदै १२३ परिवारका ४ सय ७३ जनाका लागी १ हजार ७ सय ५० केजी चामल, १ सय २६ केजी दाल तथा १ सय ५० केजी नून बितरण गरेको बताउनुभयो ।
वडा नम्वर १४ मा ६३ परिवारका २ सय ३७ जनाका लागी २५ केजीको ४७ बोरा १ हजार १ सय ७५ केजी चामल, ६३ केजी दाल र ६३ केजी नून बितरण गरेको वडा नं. १४ का अध्यक्षले जानकारी दिनुभयो ।
वडा नम्वर १६ मा ७१ परिवारका २ सय ८६ जनाका लागी नगरको खाद्य बैकबाट प्राप्त १ हजार २ सय ५० केजी चामल, ५० केजीदाल र ५० केजी नून बितरण गरिएको र वडामै सहयोग गर्नेगरी वडाअध्यक्षकै रोहवरमा काफ्ले किरानाबाट प्राप्त १ क्वीन्टल आलु, भूमी स्टोर्सबाट प्राप्त ५० किलो नून र ब्राउन वर्ड ह्याचरीले दिएको ६ पेटी अण्डा समेत सोही वडामा बितरण गरिएको १६ नम्वर वडाका वडाध्यक्षले बताउनुभएको छ ।
यस्तै, १७ नम्वर वडामा १ सय ७७ परिवारलाई खाद्य सामाग्री बितरण गरिएको वडाध्यक्षले बताउनुभयो । वडामा २५ केजीको १ सय ५० वोरा ३ हजार ७ सय ५० केजी चामल, १ सय ५० केजी दाल तथा १ सय ७० केजी नून प्रदान गरेको वडाध्यक्षले जानकारी दिनुभयो ।
यस्तै देबचुली १५ का लागी २५ केजीको ८० बोरा २ हजार किलो चामल र १ सय किलो नून तथा १ सय किलो दाल पठाएको देबचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशम सापकोटाले जानकारी दिनुभएको छ ।
देबचुली १० मा भने यसअघि संकलन गरेको तथ्याङक बिवरणमा बिबाद आएकाले पुनः तथ्याङ्क अद्यावधिक गरिएकाले राहत बितरणमा ढिलाई भएको वडाध्यक्ष केशर आलेले बताउनुभयो ।
देबचुलीमा नगरले तयार पारेको मापदण्ड बमोजिम दैनिक ज्यालादारी मजदुरीमा आधारित परिवार, भकारीमा खाद्यान्न नभएका परिवार र बिपन्न तथा बैंकमा खाता नभएका तथा खातामा ५ हजार पनि नभएका परिवारलाई राहत खाद्य बितरण गर्ने मापदण्ड तयार गरेको थियो ।
सोही मापदण्डका आधारमा प्रतिब्यक्ति ५ किलो चामल तथा प्रतिपरिवार १ किलो दाल र १ किलो नूनको अनुपातमा बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले बताउनुभएको छ ।