राहत कोषमा सुनवल नगरप्रमुखको साढे ३ लाख सहयोग

हरि शर्मा –
परासी, २२ चैत ः पश्चिम नवलपरासी सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापाले ३ लाख ५४ हजार रुपैयाँ दैविक प्रकोप उद्दार विशेष राहत कोषमा जम्मा गरेका छन् । नगरपालिकाले स्थापना गरेको उक्त कोषमा उनले ३ महिनाको तलब भत्ताबापतको १ लाख ३ हजार र २ लाख ५१ हजारको चेक गरी उक्त रकम जम्मा गरेका हुन् । उनको तलब भत्ताबापतको रकम अदालतले जनप्रतिनिधिको तलब भत्तामा रोक लगाउनुअघि ( साउनदेखि असोजसम्म) को हो ।
थापाले निर्वाचित भए लगत्तै आफूले पाउने तलब भत्ता सामाजिक कार्यका लागि प्रदान गर्ने घोषणा गरेका थिए । घोषणा गरेअनुसार उनले २ वर्षको कुल ८ लाख ४० हजार रुपैयाँ सामाजिक कार्यमा दिइएका छन् ।
यसैगरी नगरपालिकाले स्थापना गरेको राहत कोषमा अहिलेसम्म २५ लाखबढी नगद जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए । कोषमा सम्पूर्ण जनप्रतिनिधिबाट ४ लाख ११ हजार जम्मा भएको छ । व्यक्तिगत सहयोगी दाताहरुमध्ये सबैभन्दा बढी रकम नेपाली कांग्रेसका कार्यबहाक जिल्ला सभापति अर्जुन कुमार पोखरेल १ लाख १७ हजार सहयोग गरेका छन् ।
त्यस्तै नगरपालिकाका कर्मचारीबाट १ लाख २५ हजार, नगर क्षेत्रका शिक्षकहरुबाट ३ लाख २ हजारलगायत ३५ वटा विभिन्न संघसंस्था र व्यक्तिबाट कोषमा रकम जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए । हरेक दिन कोषमा जम्मा गर्ने संघसंस्था र सहयोगीदाताहरु आउने गरेको नगरपालिकाले जनाएको छ । कोषमा जम्मा भएको रकम कोरोना भाइरस संक्रमण रोकथाम र राहत वितरणमा खर्च गरिने छ ।