कोरोनाका कारण मृत्यु हुनेको स्मृतिमा चीनमा मौनधारण
चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा शनिवार विहान मौनधारण गरिएको छ । स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म मौनधारण गरिएको थियो । मौनधारण कार्यक्रममा राष्ट्रपति सि जिनफिङलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागीता रहेको थियो ।
मौनधारणमा सहभागीहरुले मृतकको सम्मान र सम्झना गरेको अधिकारीहरुले जनाएका छन । मौनधारणका बेला सबै सवारी साधनहरु जहाँको तहिँ रोकिएका थिए भने, राष्ट्रिय झण्डा झुकाइएको थियो ।
मौनधारण कार्यक्रम चीन बाहिर रहेका कुटनितिक निकायहरुमा समेत गरिएको थियो । यस कार्यक्रममा करौडौ व्यक्ति सहभागी रहेको समाचारमा जनाइएको छ ।
गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा ३ हजार ३२६ व्यक्तिको मृत्यु भइसकेको छ । यस भाइरसको कारण अझै पनि ८१ हजारभन्दा बढी व्यक्ति अझै पनि सङ्क्रमित रहेका छन् ।