भैरहवामा आजदेखि कोरोना परीक्षण शुरु
बुटवल, चैत २३–
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आजदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको खाली भवनलाई मर्मतसंम्हार गरेर प्रदेशस्तरिय प्रयोगशाला स्थापना गरेको हो ।
कोरोना प्रयोगशालाको सेवा शुरुमा तीन दिनभित्र सञ्चालनमा आउने बताइए पनि भवनको मर्मत र कोरोना परीक्षणका लागि पिसिआर मेशिन मात्रै नराखी सँगै विएसएल टु क्याविनेट वायो सेफ्टी लेभलको प्रयोगशाला स्थापनाको तयारीका कारण केही ढिलाइ भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीले बताउनुभयो । अब यो वायोसेफ्टी लेभलको प्रयोगशालामा कोरोना भाइरस मात्रै नभएर अन्य खालका इन्फ्लुएञ्जा पनि परीक्षण गर्न सकिने सुविधासम्पन्न प्रयोगशालाको पूर्वाधार तयार भएको डा गिरी बताउनुहुन्छ ।