नवलपरासीका किसानहरु खेतमा व्यस्त




वेनीमाधव वस्याल –

परासी, चैत २७ । विश्वभर फैलिदै गएको कोरोना भाइरसको महामारीबाट बच्न सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनमै आफ्नो खेतको अन्नबाली भित्र्याउन यतिवेला पश्चिम नवलपरासीका किसानलाई भने भ्याइनभ्याइ छ । रामग्राम–१२ का किसान भगत यादव अहिले आफुले लगाएको गहुँवाली स्याहर्न व्यस्त हुनुहुन्छ । लकडाउनको कारण गाउँघरमा मजदुर नपाएको भन्दै पाँच जनाको परिवार नै गहुँ कटानीमा व्यस्त भएको बताउनुभयो ।




जसोतसो परीवारको सहारामा यादवले आफ्नो सात कठ्ठा खेतमा लगाएको गहुँ काटेर, थरेसरमा लगाउन खलियानमा यादवले थुपार्नुभएको छ । ‘‘कोरोनाको डरले नेपाली मजदुर खेतमा काम गर्न जान मान्दैनन्, खेतमा सुकिसकेको गहुँ भित्र्याउनै पर्यो, नत्र वर्षभरि खाने गहुँ बर्बाद हुन्छ ।

पहिले भारतीय मजदुरलाई लगाएरगहुँ भित्र्याइसकेको हुन्थेँ। यो बर्ष लकडाउनका कारण उनीहरु पनि आउन सकेनन्, कम्पाइन लगाएर गहुँ भित्रयाउन सोचेपनि पालो नपाएको भन्दै परिवार नै मिलेर काटेका छौं, फेरि यादवले भन्नुभयो, ‘‘कोरोनाबाट बच्न समाजिक दुरी मेन्टन गरेर खेतबारीको काममा हामी लागेका छौं, सावधान र सचेत छौं।’

अर्का रामग्राम नगरपालिका बन्जरियाका किसान सुजन चौधरीले १० कठ्ठा खेतमा मसुरो र १० कठ्ठा खेतमा गहुँको खेती गरेर सपरिवार नै मिलेर गहुँ र मसुरो काटेर राखेको तर थेरेसर नपाएको भन्दै लकडाउनको कारण बाली भित्र्याउन अफ्ट्यारो भएको गुनासो गर्नुभयो । ‘‘कोरोनाबाट बच्न हामी सजग र सचेत भइ घर र खेतबारीको काम गरिरहेका छौं । बाहिर घुमफिर र बाहिरी व्यक्तिको सम्पर्कमा गएका छैनौँ । किसानी काम गर्दा दुई मिटर दुरीमा रहेरै काम गरेका छौं, चौधरीले भन्नुभयो ।

त्यसैगरी पत्रकार मोहम्मद ईजहार शेषले सरावल–४ बाट दिएको जानकारी अनुसार किसानहरुले तेलहन र दलहन बाली भित्र्याईसकेका छन् । किसानहरु खेतमा गहुँबाली कम्बाइन लगाएर भित्रयाउन व्यस्तता बढेको उहाँले बताउनुभएको छ ।

प्राय: नेपाली कम्बाइनका ड्राइभर र मिस्त्री भारतको पञ्जाब क्षेत्रका नागरिक हुने भएपनि लकडाउनका कारण यसबर्ष नेपाली ड्राइभरले कम्बाइन चलाएर गहुँ काटेको उहाँले जानकारी दिनुभयो । उनीहरु नआएपछि नेपालकै जनशक्तिको प्रयोग गरी सञ्चालन गरिएको समेत शेषले बताउनुभयो ।

सरकारले एकाएक लकडाउन गरेका कारण पश्चिम नवलपरासीका ग्रामिण भेगका प्रायः सबै किसानहरु आफ्नै खेतबारी र घरायसी कामकाजमा व्यस्त छन् । प्रायः मान्छे सचेत र संयम पनि देखिएका छन् ।



सम्बन्धित
Loading...