प्रहरीकै घरमा काम गर्ने १४ वर्षीया किशोरी मृत फेला
प्रहरीकै घरमा काम गर्न राखेकी किशोरी मृत्त फेला परेकी छिन् । बाजुरा घर भएकी १४ वर्षीया किशोरी ललिता विष्टको शव बिहीबार राति बाँकेको नेपालगञ्ज शान्तिनगरस्थित महिला प्रहरी हवल्दार शान्ता मल्लको घरमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
शान्ता प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छिन् । मृतक बालिका उनकै घरमा बसेर ७ कक्षामा पढ्दै आएकी थिइन् । हवाल्दार शान्ताकी श्रीमानसमेत प्रहरी हवाल्दार नै हुन् । मृतक ललिताका आफन्त अम्बर डडालले भने बालिकाले आत्महत्या गरेको नभई हत्या भएको आशंका रहेको बताए ।
‘बालिकाको शव घरनजिकैको बारीको बकैनाको रूखमा झुण्डिको अवस्थामा फेला पर्यो, खुट्टाले जमिन छोएको अवस्था छ, कसरी आत्महत्या भन्ने ? हामीलाई हत्या गरेको आशंका छ,’ अम्बर डडालले भने ।
हत्या भएको आशंकामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा निवेदनसमेत दिएको उनले बताए । ‘बाजुराबाट बोर्डिङ स्कुमा पढाइ दिन्छु भनेर नेपामागञ्ज ल्याउनु भएको हो । यता, पुगाएपछि भने सरकारी स्कुलमा भर्ना गरेको पाएँ,’ डडालको गुनासो गरे ।