चाँदिको घेरो
खतरनाक शत्रु कोरोना !

सौगात वाग्ले –
हो, लामो समय भइसक्यो कलम नउठेको । नचाहेर, नमानेर वा नजानेर, खोतल्न चाहिन मैले । सायद नभ्याएर पनि हुनसक्छ । प्रश्न असंख्य छन्, तर अनुत्तरको जवाफले आफै झस्किरहेको छु । विषय हजार छन्, भनौं चाङ लगाउन सक्छु, किन्तु अक्षर यसरी भागिरहेका छन् कि मानौ ती धुलकण मिश्रित पवन हुन् ।
नढाँटिकन, म लेख्न चाहिरहेको छु, असङ्ख्य साना टुक्रा विद्युतीय कागजहरू नष्ट पनि गरेँ । क्षणिक नै सही, दशौँ पटक घोत्लिएँ पनि । कदाचित मस्तिष्क अझ विवेक नै स्थिर रहेन । थाहा छैन, करिब ७५ शब्दहरूका निम्ति चलिरहेका यी औँलाहरू कहाँनेर गएर टक्क अडिदिन्छन्, यस क्षणसम्म एकटक रहिरहेको मन र मगज कहाँनेर अस्थिर भईदिन्छ अनि यो सोच सङ्गै यी निर्दोष अक्षरहरूले पनि सजाय पाउँछन, भगवान यिनीहरूले सजाय नपाउन, कामना गर्छु ।
सारा ब्रह्माण्डमा पृथ्वी मात्र यस्तो ग्रह, जहाँ प्राणी अस्तित्व कायम रहिरहेको छ । हुन त के थाहा, अन्य तारापूञ्ज र ग्रह पनि होलान, जहाँ मानिसभन्दा पनि अझ विवेकी र श्रेष्ठ प्राणीले राज पो गरिरहेको छ कि ! खयर कल्पनासँग नबहकिएकै जाति । पृथ्वीको उत्पत्तिदेखि सिङ्गो प्रविधिले छोपिदिएको २१औँ शताब्दीसम्म आइपुग्दा अनेक रोग, प्रकोप र युद्धहरू पनि भए, जसले कैयौँ जिवजन्तु र बिरुवाहरूको पनि त ज्यान लियो, अनगिन्ती संरचनालाई भत्कायो, भनौ प्राकृतिक स्वरूप नै बिगारिदियो । हर्केले बा गुमायो, सुन्तलीले आमा भन्न छोडी, बिन्दुले चुरा फोरी अनि यस्तै इतिहासले दस्तावेज बनाएका त कतिले सहिद भनेकाहरू पनि मानौ भगवान इन्द्रलाई महाराज भनिरहेका छन तर मत्यलोकका कुनै झुपडी अथवा महलमा नै सही तीनका रगतले नयन सजल बनाइरहेका छन् ।
हुनसक्छ, यो मेरो कल्पना हो, भनौ, सुन्दर साहित्य । तर ती छाति छेँडिएकाहरू, रगत छादेकाहरू अनि डोरि बाँधिएका र बाँध्न बाध्यहरूसँग उमेर पुगेकाहरूलाई त एउटै तुलोमा जोखिन्न होला नि हगि ।
यी सोचहरूले जीवन पाइरहँदा अनि यी अक्षरहरूले आकार लिइरहँदा, संसारका कति सडकहरूमा एम्बुलेन्स गुडिरहेको होला, कति अस्पताल भरिइरहेको होला अनि कति लासहरू निकालिँदै, गाडिँदै भनौ पोलिँदै पनि त होलान् । साँच्चै! बिर्खेका निम्ति किरिया बस्नुपर्ने चन्द्रे अस्ति भर्खर बाबा खस्दा घाटसम्म गएन, सायद जान पाएन । अनि पोहोर साल मात्र सुत्केरी श्रीमती छाडेर मुग्लान पसेको माने आज आफ्नी प्यारी ब्यथाले छटपटाइरहँदा पनि कसैले तोकिदिएको चौकुनो घेराभित्र मानौ गोरी छोरीको अप्राप्य आकृती कोरिरहेको छ, शान्त र बेखबर रहँदै सुत्केरी ब्यथाले छटपटाइरहेकी उसकी प्यारीलाई बेलैमा अस्पताल पुर्याउँदा पनि अर्कै रोगको त्रासमा ज्वरो नापिरहेका डाग्डर साहेबले समय नभएको भन्दै पन्छाइदिँदा उतै कतै आमाकै पेटमा विश्राम लिएकी छोरी बारे ।
तपाइँ मभन्दा धेरै बुज्नुहुन्छ सायद यस बिषयमा जसले धनीको धन मात्र खोसेन, गरिबको छाक पनि चुँडिरहेको छ । निर्दोषको ज्यान मात्र लिएन, निमुखाको आश पनि हरिरहेको छ । विद्यार्थीको कापी, जागिरेको तलब, चिकित्सकको निद्रा अनि प्रहरीको होस भगाइरहेको बिपीले ठहराएको भन्दा करोडौँ गुणा खतरनाक शत्रु कोरोना !
उल्लेखित कागजी प्रतिनिधिहरूलाई आफूमा समाहित गर्ने, अझ वास्तविकतासँग दाँज्ने अनि पीडितहरूका दर्दनाक र भयानक यथार्थतालाई केवल बोध मात्र गर्ने ल्याकत राख्छु म । सायद ती चन्द्रे र सुन्तलीजस्ता वास्तविकताका साक्षीहरूका नयन अबिरल बगिरहे भने हर्के र मानेहरू एक छाकका निम्ति निरन्तर भौँतारिइरहे भने मानौ यी अक्षरहरू कैदि बनिरहने छन, केवल अशुभ बोलेको अभियोगमा निरन्तर सधैँ सधैँ ।
विज्ञान त म जान्दिन, बजार म बुज्दिन तर कुनै शास्त्रमा नअटाउने सायद शून्यले भाग गर्दा भन्दा पनि अझ टाढा र परको अङक सँग मेल खाने पीडा छाडिदिने यी र यस्तै विनाशहरूको, दुःखहरूको, भनौ घाउहरूको ब्यथासँग जोडा मिल्ने मीत लगाउने अनि सङ्गै कम्तिमा पेट भर्ने केहि अचुक भेटिने भए आज ऐया भन्नेहरूको कलेटि परेको ओँठ भिज्थ्यो होला, केवल एक चम्चा दूधको आशमा घाँटि दुखाइरहेको बबुरोले पेट भर्थ्यो होला, बरु जीवनभरका निम्ति ऋणी रहेर । किन भनेनि, मन पढ्नु त फेरि स्वेर कल्पना ठहरिएला, अझ पीडा त आखिर भर्खर खाना खाएर चकलेटका निम्ति झगडा गरिरहेको बालकको पनि त उस्तै हुन्छ होला नि! कम्तिमा उसका निम्ति ।
भनिन्छ नि ! रातका पछि दिन पछ्याउँछ, कालो बादल चाँदिको घेरो लगाउँछ भनेजस्तै आज यो महामारि पनि अझ हालसम्म नै भएका, घटेका अनगिन्ति प्रकोप अनि बदमासीहरूले केहि न केहि सकारात्मक सन्देश भने छाडिदिएका छन, भनु छाडिरहेका छन ।
७ वर्षको उमेरदेखि घर छाडेको मैले वर्षमा पुग नपुग ४ महिना अझ पछिल्लो समयमा त साढे दुई महिनाको सेरोफेरो मात्र घर बस्ने अवसर पाएको थिएँ । सरकारी विद्यालयकी शिक्षिका मेरी आमैले हरेक दिन खाना बनाएर, भाँडा धोएर, विद्यालयमा पढाएर फेरि घरमा कपडा धुन र खाना बनाउन आउनुपर्थ्यो । सायद होलान्, कसैका यही दिनचर्या भएका आमा बुबा र आफै पनि ! जो आज सङ्गै उठ्छन्, खान्छन्, हाँस्छन् अनि निरन्तर मुस्कान साटिरहन्छन । मान्नुहोस, यो यहाँको मात्र नभई सिङ्गो विश्वको पारिवारिक मिलापको अवसर हो ।
भनिन्छ नि ! रातका पछि दिन पछ्याउँछ, कालो बादल चाँदिको घेरो लगाउँछ भनेजस्तै आज यो महामारि पनि अझ हालसम्म नै भएका, घटेका अनगिन्ति प्रकोप अनि बदमासीहरूले केहि न केहि सकारात्मक सन्देश भने छाडिदिएका छन, भनु छाडिरहेका छन ।
७ वर्षको उमेरदेखि घर छाडेको मैले वर्षमा पुग नपुग ४ महिना अझ पछिल्लो समयमा त साढे दुई महिनाको सेरोफेरो मात्र घर बस्ने अवसर पाएको थिएँ । सरकारी विद्यालयकी शिक्षिका मेरी आमैले हरेक दिन खाना बनाएर, भाँडा धोएर, विद्यालयमा पढाएर फेरि घरमा कपडा धुन र खाना बनाउन आउनुपर्थ्यो । सायद होलान्, कसैका यही दिनचर्या भएका आमा बुबा र आफै पनि ! जो आज सङ्गै उठ्छन्, खान्छन्, हाँस्छन् अनि निरन्तर मुस्कान साटिरहन्छन । मान्नुहोस, यो यहाँको मात्र नभई सिङ्गो विश्वको पारिवारिक मिलापको अवसर हो ।
वायु प्रदुषणले आक्रान्त विश्व विगत केहि हप्ता यता शान्त छ, आकाश खुला छ, हीमाल निसन्ध्येय दैवज्ञराज न्यौपानेकै लवजमा सेता लहरसहित हाँसिरहेछ । त्यसका अलवा निर्वाध पञ्क्षीले टाढाको उडान भरिरहँदा मानव आँखाहरूले निशुल्क रूपमा सदृश्य ती प्वाँख र रङहरू सँग मितेरी गाँसिरहेछन् ।
आज एक चित्रकारले क्यानभास समाइरहेछ । मानौ टिनको छाना सहितको रातमाटे घरबाट गाग्रि च्यापेर गुन्युचोली परिधानमा भर्खर प्रभातको स्वागत ग्रहण गर्दै पँधेराको लाममा सामेल हुन पाइला चालिरहेकि एक गृहणिको चित्र बनाउन तत्पर रहिकन ।
त्यति मात्र कहाँ, बिहानैदेखि जाँडसँग मितेरी गाँस्न अव्यस्त रहेका धने दाई पनि त विगत केहि समय यता बन्दाबन्दिलाई समर्थन गरेर एकान्तबासमा चुपचाप पुतलीले बनाएको मस्यौराको झोल र पतिनाको चटनिसँग सरकारले वितरण गरेको राहात चामलको गास निलिरहेका छन नि ! मानौ उनी त्यहि बन्दाबन्दि नामधारि दलले बाँडेको चुनावी भतेर खाएर उसैलाई जिताउन कम्मर कसिरहेका छन् ।
उल्लेखित म लगायतका सकारात्मक सन्देश दिइरहेका प्रतिनिधि बाहेक पनि क्याम्पसले जारि गरेको उर्दिमा टाउको हल्लाएर अनलाइन कक्षा लिइरहेको बिक्रम, साथिहरूका सामाजिक सञ्जालका भित्ता चाहर्दै पूराना तस्बिरमा प्रतिकृया जनाउदै दिन काटिरहेकी मञ्जरी, कालो बजारीको टेन्डर जितेर मौका यही हो भनिरहेको रामे अनि यही मौकालाई सदुपयोग गरेर समानान्तर रूपमा परिवारमा मुस्कान बाँड्दै आफ्ना थाँति रहेका कामहरू गरिरहेकी बिपना देख्दा लाग्छ, एकदुई अपवाद बाहेकका यी सब घर बाहिर अबिरल चलिरहेको युद्धका बिच शान्तिको प्रतिक लिएर आ(आफ्ना इष्टमित्रको नाममा इश्वर पुकारिरहेका छन ।
करिब ८६० शब्दहरूले आकार पाउँदा शरीरले करिब ७ घण्टाको विश्राम लियो । उठेर रेडियो बटार्दा २४ घण्टामा करिब ७ हजारले धर्ति छाडेको अनि ७९ हजार नया सङ्क्रमित भेटिएको समाचार सुन्दा निशब्द छु । थाहा छैन, यो महामारि स्वयं भने कुन बिन्दु र मोडमा गएर निदाउँछ । सधैँ सधैँ नब्यूँझिने गरी ।
बुझ्नुहुन्छ के , मेरो घरपारि छिमेकको गोठमा एक ताउलो कुँडो र एक भारि घाँसका निम्ति कराइरहने गौमातालाई के प्रवाह कोरोना नाथेको ! दिनभर खुला आकाश मुनि हाइ काड्दा पनि एक मुठि धुलो खाने ती बेतलबी सुरक्षा कवज पशुहरूलाई को राहात दिने सरकारबाट ? सायद ती पनि त अचम्ममा होलान नि हगि सिङ्गो सडक खालि पाउँदा, उनिहरूका अन्नदाता सबै पसल र होटलहरू बन्द हुँदा । कठै ! तिनिहरूलाई पनि त लाग्दो हो कि मानिसहरू हामीसँग रिसाएर, सायद आजित परेर ढोका थुनिरहेछन । हो, हाम्रा विरुद्ध आन्दोलन चर्काइरहेछन् । अनि नाइके मध्यको एक भन्दो हो कि “सशस्त्र वा निशस्त्र, कसरि जाने मैदानमा ? तयार हौ साथि हो !”
आज ती कञ्चन सरीता, निल तलैया, अनि शान्त सागर सबै सबै प्रफुल्लित अझ पुलक्कित छन्, अझ त्यहाँका जलचर यसरि क्रिडा गरिरहेका होलान् कि मानौ, ती पनि त लाजले भुतुक्क होलान्, बैँसले उन्मत्त होलान् सायद थाहा पाएर, आज यहाँ जहाज आउँदैन, डुङ्गा चल्दैन, अनि दुषीत हुँदैन हाम्रो खाना र छाना । ए, ती सब एक स्वरमा भन्दै पनि त होलान् नि हगि! “कि यो सुनसान र यस शताब्दिकै शान्त दिनहरूमा हामी पनि यो चन्चल पवनसँग जिस्किँदै, यी छालसँग मिसिँदै चलाइरहने छौँ हाम्रो विशाल खानदानको वंश विस्तार कार्यक्रम ।”
सायद, सदियौँदेखि स्वचालित प्रकृतिलाई बिगारिरहँदा, अझ आवश्यकता भन्दा धेरै लुटिरहँदा, च्यातिरहँदा उनलाई पनि त रिस उठ्दो हो नि हगि! त्यसैले त बेला बेला बाढि बनेर रोइरहन्छिन्, पहिरो र भूकम्प बनेर बहुलाउँछिन् अनि बेला बेला महामारिको रूपमा सताइरहन्छिन् । आज मानिस खान जान्दैन, केवल जिब्रोको स्वादका निम्ति अनेक रसायन आफै बनाउँछ अनि त्यसकै लोभमा केके केके रोग निम्तिरहँदा नसर्नेले आफैलाई थिलोथिलो पारिरहेछ अनि सर्नेले यो भयाबह धारण गरिरहेछ ।
मैले माथि नै भने कि म विज्ञान जान्दिन । केवल समयान्तरका वास्तविकताहरूलाई तुन्दा तुन्दा अक्षर केहि लम्बिए, भाव केहि तन्किए अनि विचार केहि बहकिए । परन्तु तितो यथार्थसँग जुझ्दै आज विश्वले यसलाई लखेट्ने चेष्टा गरेको पनि झन्डै एक सय दिन पुगिसकेको छ । यस बिचमा ज्यान गुमाउने ८० हजार भन्दा बढि व्यक्तिहरू, प्रभावित ती २०९ राष्ट्र अनि २ पानिजहाज र करिब १४ लाख सङ्क्रमितप्रति मेरो सहानुभूति सङ्गै कामना छ कि यहाँहरू छिटै निको हुनुहोस । निरन्तर बिरामीको सेवा र असहायहरूको समाउने हाँगो बनिरहनुभएका ती तमाम मनहरूप्रति ढोग व्यक्त गर्दै एकान्तबासमा बसिरहनुभएका सम्पूर्णमा अनुरोध छ कि, “आफू सजग हुँदै अरूको पनि ख्याल गरौँ, सङ्गै यो जीवनको सबैभन्दा डरलाग्दो शताब्दीकै भयाबह यस काललाई अझ महत्त्वपूर्ण, फलदायी र व्यवस्थित बनाउँदै महामारिलाई जित्ने प्रयास गरौँ ताकि छिटै फेरि एकपटक पाठ सिकेर ती दिनहरूमा फर्कन सकियोस, जहाँ हाम्रो कटु यथार्थता छिपेर बसेको छ ।“