नवलपुरमा बढ्यो लकडाउन उल्लंघनका घटना, नारायणी नदी सडकसम्म मानिसको चाप बढ्यो
रामकुमार श्रेष्ठ –
नवलपरासी। कोरोनाको संक्रमणको त्रास बढीरहँदा नवलपुरमा लकडाउन उल्लंघन गर्ने क्रम बढ्न थालेको छ ।
अनावश्यक कामले पनि सडकमा निस्केर ओहोरदोहोर गर्नेदेखि, साँझविहान गाउँघरमा डुल्ने, साँझको समय युवाहरु भेला भएर फुटबल क्रिकेट खेल्ने, गाउँघरमा जम्मा भएर तास खेल्ने क्रम बढेको छ ।
लकडाउनका बाहनामा प्रहरी गस्ती नै आउन नमिल्ने गरी बाटो छेक्ने र गाउँगाउँमा लकडाउन उल्लंघन गरेर एक ठाउँमा जम्मा भएर तास, लुडो खेल्ने क्रम समेत बढेको छ ।
प्रहरीले सडकमा बेलाबेलामा चेकजाँच गरे पनि अधिकांश सडकमा प्रहरी समेत नहुने गरेका कारण सडकमा अनावश्यक काममा समेत मोटरसाइकल लिएर ओहोर दोहोर गरेको नवलपुरमा देख्न थालिएको छ ।
शुरुको दिन सुनसान देखिने नवलपुरको नारायणगढ–कावासोती–दाउन्ने सडकमा पैदल, साइकल, मोटरसाइकल, टेम्पोमा समेत यात्रा गर्ने गरेको देखिन्छ ।
दुई सय बढी सवारी साधन कारवाहीमा

आइतबारमात्र लकडाउन उल्लंघन गर्ने २ सय बढीलाई नवलपुर प्रहरीले होल्डमा राखेर फर्काइदिएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार २ सय बढी सानाठूला सवारी साधनलाई आइतबार लकडाउन उल्लंघन गरेको कारण कारवाही गरिएको बताए ।
डिएसपी खाँणले पछिल्लो दुई दिन यता मानिसको आवतजावत बढ्न थालेकोले लकडाउन कडा पार्न प्रहरीको सक्रियता बढाइएको बताए ।
जिल्ला स्वास्थ्य नवलपुरका प्रमुख केशव चापागाईले आफूले पनि लकडाउन उल्लंघन भएको पाइएको र आवश्यकता भन्दा बढी मानिसहरु सडकमा हिडडुल गरेको बताउँदै भने – यसरी हिडडुल गरे संक्रमणको जोखिम झन बढ्छ । यसलाई नियन्त्रण गर्न आवश्यक छ ।
चापागाईले भने – कोरोनाको संक्रमणको जोखिमबाट बच्नका लागि लकडाउन कार्यान्वयन गरेर घरघर बस्नुको विकल्प छैन । नवलपुरबासीलाई घरघरबस्न लकडाउनको कार्यान्वयन गर्न अपिल गर्दछु ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले लकडाउन कार्यान्वयन गर्न सबै नागरिकलाई अपिल गर्दै आफूले पनि लकडाउन उल्लघंनको घटना बढेको महसुस गर्दै प्रहरी गस्ती बढाउन निर्देशन गरेको बताए ।
नयाँ बर्षमा नारायणीमा स्नान गर्नेको घुईचो

लक डाउन अबज्ञा गर्दै नयाँ वर्षमा नारायणी नदीमा स्नान गर्ने र पुजा आजा गर्नेको बिहानैदेखि घुइचो लागेको छ । नयाँ वर्षमा नारायणी नदीमा नुहाउनाले रोग निको हुने र ऐश्वर्य बृद्धिहुने भन्दै नुहाउने चलन छ ।
सोमवार नारायणी नदी किनारका घाटहरुमा बिहानैदेखि सर्वसाधारण केटाकेटी बोकेर नदी किनारमा पुगेका थिए । बाक्लो भिड छ भन्ने जानकारीपछि पुगेको प्रहरीले सर्वसाधारणलाई टाढाटाढा बसेर स्नान गर्न र चाडो घर फर्किन आग्रह गरेको देखिन्थ्यो । नया बर्षमा गंगा स्नान गर्नाले रोगब्याधिले छुन्न भन्ने सनातन मान्यताका आधारमा आफुहरु स्नान गर्न र पुजाआजा गर्न आएको पिठौली स्थित नदी किनारमा भेटिएका पंण्डित सुर्बमन्यम पौडेलले सुनाए । उनले रोग निकोहुने भएकाले नुहाउन पर्ने दावी गरे । स्नान गरेकाहरुले नदी किनारमै बत्तिबाल्ने , सूर्यलाई जल, अर्घ चढाउने गरेका थिए । नजिकमा मन्दिरहरुमा जल चढाउनेको उत्तिकै घुइचो थियो ।
पिठौलीका राजन गुरुंगले रोग नलाग्ने बिश्वासमा सोमबार बिहान ५ बजेवाट पिठौली स्थित नदी किनारमा सर्वसाधारण ओइरिएको सुनाए । उनका अनुसार अघिल्ला वर्ष भन्दा यो बर्ष भिड बढि देखिएको छ । सर्बसाधारणलाई १ मिटर दुरी कायम गरेर नुहाउन प्रहरीले गरेको आग्रहलाई कसैले टेरेनन । एकै परिवारका सबै जसो नदी किनारमा आएका थिए । टाढाटाढावाट गाडि मोटरसाकल र साइकल र रेक्सामा समेत सर्वसाधारण पुगेका देखिन्थे ।
प्रशासनले लकडाउनको उल्लंघन नगर्न र घरघरमै नुहाउन गरेको आग्रह बेवास्ता गर्दै नदी किनारमा गत वर्षहरुमा भन्दा बढी भिड लागेको हो ।
केहीले सामाजिक दुरी कायम गरेको देखिए पनि अधिकांशले सामाजिक दुरु समेत ख्याल नगरेको पाइएको थियो ।