नवलपरासी क्वारेन्टाईनमा बस्नेको संख्या घटदै
गोपी ज्ञवाली ।
नवलपरासी, ७ बैशाख । पश्चिम नवलपरासीको विभिन्न स्थानमा बनाईएका क्वारेन्टाईनमा बस्नेहरुको संख्या तिब्र गतिमा घटदै गएको छ ।
पश्चिम नवलपरासीको सुुनवल, सुस्ता, प्रतापपुर, वर्दघाट लगाएतका स्थानमा बनाईएका क्वारेन्टाईनमा बस्नेहरुको संख्या तिब्र गतिमा घटदै गएको पाईएको छ । सुुनवल, वर्दघाट रामनगर नगरपालिका, सुस्ता, प्रतापपुर एवं सरावल गाउँपालिकामा गरि नवलपरासीका छ स्थानमा बनाईएको क्वारेन्टाईन कक्षमा अहिले बस्ने मानिसहरुको संख्या तिब्र गतिमा घटेको जिल्ला जनस्वाश्थ्य प्रमुख गौरव बस्यालले बताए ।
प्रमुख बस्यालका अनुसार चैतको २१ गते सम्ममा जिल्लाका विभिन्न क्वारेन्टाईन कक्षमा बस्नेहरुको संख्या एक सय ५० भन्दा धेरै भएको अवश्थामा अहिले सम्म आउदा यो संख्या घटेर जम्मा ८० भएको छ । सबै भन्दा धेरै संख्यामा भएको सुनवल जर्गाहा क्वारेन्टाइन कक्षमा चैतको मध्यमा २९ जना रहेको अवश्थामा अहिले जम्मा ५ जना मात्र रहेका छन । जिल्लाको सुस्ता क्वारेन्टाईनमा ४३ जना रहेको मध्य अहिले संख्या घटेर २० जना भएका छन भने वर्दघाट नगरपालिकाको क्वारेन्टाईनमा सात जना मध्य अहिले जम्मा ४ जना मात्र रहेका छन । यसै गरि प्रतापपुरको क्वारेन्टाईनमा ३४ जना मध्य अहिले २३ जना रहेका छन भने सबै क्वारेन्टाईनमा बस्दै आएकाहरुमा कसैमा पनि कोरोनाको लक्षण अहिले सम्म नदेखीएको बताईको छ ।
पश्चिम नवलपरासीमा अहिले सम्म कोरोनाको लक्षण एक जनामा पनि देखीएको छैन तर भारतीय खुला सिमानाका कारण नवलपरासीवासी त्रसीत भने बनेका छन । नवलपरासीको छिमेकी भारतीय जिल्ला महाराजगंजमा अहिले सम्म एक दर्जन मानिसमा कोरोनाको संक्रमण फैलिएको छ ।