कैलालीका युवा पनि कोरोना जितेर घर फर्किए
दीपक ओली –
धनगढी, ७ वैशाख । कैलालीका कोरोना संक्रमित एक जना युवक आज आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ९, प्रतापपुरका २१ वर्षीय राज विक डिस्चार्ज भएका हुन् ।
उनी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा १६ दिनको उपचारपछि कोरोनालाई जितेर आइतबारै घर फर्किएका छन्। १२ चैतमा भारतबाट घर पुगेका उनलाई २२ चैतमा संक्रमणको पुष्टि भएको थियो।
उनको दोस्रो र तेस्रो रिपोर्ट नतिजा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदीश जोशीले बताए ।
बिकले दोस्रो र तेस्रो रिपोर्ट नतिजा नेगेटिभ आएर अस्पतालबाट डिचार्ज हुन पाउँदा धेरै खुशी लागेको बताए ।‘सवैलाई त्रसित पारेको रोगलाई जित्दा धेरै खुशी लागेको छ,’उनले भने,‘म मात्र होइन्, मेरो परिवार र पुरै मेरो गाउँमा सबै खुशी भएका छन् ।’
उनले उच्च मनोवल राखेर र हिम्मत नहारेमा यो रोगवाट निको हुन सकिने बताउँदै उपचार गराईरहेका सबैलाई हिम्मत नहार्न सुझाव दिँदै आफू जसरी घरबाट आएँ त्यसैगरि निको भएर घर फर्केको बताए । साथै उनले सधै आफ्नो मन बलियो राखेर कुनै टेन्सन नलिइकन सरसफाइ र स्वास्थ्यमा ध्यान दिनुपर्ने बताए ।
कोरोनालाई जितेर डिस्चार्ज भएका ती युवकलाई घर फर्कने बेला सुदूरपश्चिम प्रदेश सामािजक विकास मन्त्री कृष्णराज सुवेडी, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष उपचारमा संलग्न डाक्टर शेरबहादुर कमर लगायतका स्वास्थ्यकर्मीको उपस्थिती रहेकाे थियो । उनलाई लालीगुराँसको फूल दिएर विदाइ गरिएको थियो । साथै उनलाई सेती प्रादेिशक अस्पतालको एम्बुलेन्समा घर छोडिएको छ ।
अब यो अस्पतालमा चार जना संक्रमितको उपचार भइरहेको छ। अन्य चार जना कोरोना संक्रमितको अर्को रिपोर्ट भने पोजेटिभ आएको डाक्टर जोशीले जानकारी दिए ।
अस्पतालमा धनगढी ५ का ३४ वर्षीय युवक र उनकी ३४ वर्षीया भाउजु तथा कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र कैलालीको लम्कीचुहा नगरपालिका १ कि ६५ वर्षीया महिलाको उपचार भइरहेको छ ।
योसँगै देशभरीमा ३१ जना संक्रमितमा उपचार पछि निको हुनेको संख्या ४ पुगेको छ ।
