चितवनमा सबै विद्यालयले वैशाख १७ भित्रमा नतिजा सार्वजानिक गर्नुपर्ने
नारायण अधिकारी –
भरतपुर, ११ वैशाख (रासस) । जिल्लामा रहेका सम्पूर्ण विद्यालयले सिकाइलाई निरन्तरता दिने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइको समन्वयमा आज यहाँ बसेको नगर शिक्षा अधिकारीको बैठकले लामो समय सम्म विद्यालय बन्द हुँदा छात्र-छात्रा नकारात्मक असर पर्ने भन्दै सिकाइलाई निरन्तरता दिने निर्णय भएको हो ।
एकाइका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा रहेका ५१९ विद्यालयका छात्र/छात्रालाई अध्ययन गर्ने बानीलाई निरन्तरता दिन सिकाइको कामलाई निरन्तरता दिन लागिएको हो । सदरमुकाममा रहेका र इन्टरनेटको पहुँचमा रहेका छात्र/छात्रा अनलाईन कक्षा सञ्चालन गर्ने र ईन्टरनेटको पहुँचमा नरहेकालाई तोकिएको स्थानमा सामाजिक दूरी कायम गरी पठनपाठन गराउने वा सञ्चारमाध्यमको सहायताले सिकाइको काम गर्न लागिएको हो ।
छात्रछात्राको सिकाइलाई ध्यानमा राख्दै जिल्लाका सबै विद्यालयहरुले यही वैशाख १७ गते सम्म नतिजा सार्वजानिक गरी सिकाइको काममा लाग्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
सरकारले कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी राखेपछि छात्र/छात्रालाई घरमा बसेर अभिभावकको कुरा नमान्ने भएका कारण सिकाइका लागि विभिन्न विधिबाट कक्षा सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । प्रदेश शिक्षा निर्देशनालयबाट समेत छात्र/छात्राको सिकाइलाई निरन्तरता दिन निर्देशन भएअनुसार सिकाइको काम सञ्चालन गर्न लागिएको प्रमुख सुवेदीले बताउनुभयो ।