तरकारी खेतीप्रति आकर्षित हुदै बर्दघाट नगरका कृषक

रवि पाण्डेय –
नवलपरासी १२ बैशाख । चन्द्रबहादुर बुढा मगर (६१) को बिहानदेखि सम्झाझै सम्म दिनभरको समय खेतमै बित्छ । बिहान उठ्यो खेतमा गयो खाना खाने बेला बाहेक उनलाई खासै फुर्सद नै हुदैन । उनलाई छोरी चन्द्र कुमारीको साथ र सबै परिवारको जोडबलले लटरम्म फलेका तरकारी बारी गोडमेल गर्न औधी मन पर्ने गरेको छ ।
एक बर्ष अघिबाट बर्दघाट–२ चिसापानीमा ब्यवसायिक तरकारी खेती शुरु गरेको चन्द्रबहादुरको परिवार अचेल यो पेशाबाट सन्तुष्ट हुन थालेको छ । एकबर्ष भयो यो तेस्रो सिजन हो यो सिजनसम्म आईपुग्दा लगानी उठ्ने अवस्थामा आइसकेका छौ – चन्द्रबहादुर भन्छन् –लगानी उठेपछि अर्काे सिजन पुरै फाइदा हुन्छ ।
शुरुमै ६ लाख लगानी गरेर १० कठ्ठामा थोपा सिंचाई सहितको तरकारी बारी तयार गरेकोले लगानी उठाउन एकबर्ष लागेको चन्द्रबहादुरले बताए ।
चिसापानी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष हुदाँ लिएको अनुभवले समेत काम गरेको उनको भनाई छ । महंगो प्रबिधि तथा सरकारी पक्षबाट सहयोग भए अझ धेरै गर्न सकिन्थ्यो – चन्द्रबहादुर भन्छन् – तर सरकारबाट सहयोग पाउन सकिएको छैन तैपनि आफ्नो पेशाबाट सन्तुष्ट छौ । त्यस्तै समयमा बिउबिजन नपाइने, बजार अभाव हुने र अहिले लकडाउनको कारणबाट समस्या परेको उनकी छोरी चन्द्रकुमारीले सुनाइन् ।
मगरको खेतमा अहिले काक्रो, लौका, टमाटर, करेला, बोडी फलेका छन । लकडाउनको बेला उत्पादन भएका तरकारी आफैले साइकलमा डुलाएर बेच्ने गरेको चन्द्रकुमारीले बताइन् ।
त्यस्तै बर्दघाट २ चिसापानीकै दुई जना युवा ओम बुढा मगर र खुमलाल पुनले पनि करिब १२ लाख लगानी गरेर १ बिघामा तरकारी खेती गरेका छन् ।
उनीहरुले थोपा सिंचाई प्रबिधि सहितको. एक बिघामा तरकारी लगाउन थालेको दुई बर्ष हुन लाग्यो तर कही कतैबाट उनीहरुले सहयोग नपाएको गुनासो गरे ।
सरकारले देला भन्ने त त्यति आशा छैन – ओम भन्छन् – तैपनि ठाँउ ठाँउमा अनुदान पाएको सुनेका छौ । हामीले भने कही कतैबाट केही पाएका छैनौ । सरकारले अनुदान नदिएपनि निरन्तर काम गर्ने उहाँहरुको प्रण छ ।
उनीहरुको सिर्जनशिल तरकारी फर्ममा अहिले टमाटर, फर्सी र बोडी लटरम्म फलेका छन् । थोपा सिंचाईका लागी प्रबिधि सहितको व्यवस्था गरेका छौ – खुमलाल भने – यो सिजनको तरकारी राम्ररी बेच्न पाए लगानी उठने थियो । त्यसपछि अगाडि बढ्न सहज हुने थियो ।
त्यस्तै चिसापानीकै ईन्द्रकुमार थारुको तरकारी फर्म छ । फर्ममा भिन्डी, बन्दा र खुसानी फलेका छन् । उनले लकडाउनमा स्थानीय निकायले दिइएको समय पारेर तरकारी बेच्ने गरेको बताइन् ।
त्यस्तै चन्द्रबहादुर, चन्द्रकुमारी, ओम, खुमलाल र ईन्द्र कुमारको साझा गुनासो छ । तरकारीको उचित मूल्य, बजार ब्यवस्थापन, बिउबिजन मलमा सहुलियत र सरकारी अनुदान नपाएको गुनासो ।
उता बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले आफूले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । हामीले कृषिबाटै नगरको समृद्धि हुन्छ भन्ने विश्वास लिएका छौ , त्यसैले कृषि तथा पशुपालन बिशेष जोड दिएका छौ – बस्याल भने – दुध र अण्डामा नगर आत्मनिर्भर भइसकेको छ ।
त्यस्तै वडा नम्बर १४ मा तरकारी र मकैको समेत पकेट क्षेत्र घोषणा भएको छ ।
बजार ब्यवस्थापनमा समस्या भए सहजीकरण गर्न नगरपालिका तयार रहेको उनले जानकारी दिए ।
त्यसैले किसानको उत्पादनको सर्मथन मूल्य तोक्ने, स्थानीय स्तरमा बिक्री नभएका उत्पादनको बजारको ग्यारेन्टी, बिउबिजन र मलमा सहुलियत तथा कागजी अनुदान लिने/दिनेहरुलाई निरुत्सान गरी वास्तविक कृषकहरुलाई अनुदान दिने ब्यवस्था भएमात्र यी मेहेनेति किसानहरुलाई राहत हुने देखिन्छ ।