दाह्रा काटेर ‘ध्रुवे’ को घाँटीमा रेडियोकलर जडान

कुनै समय चितवन निकुञ्जको पश्चिम क्षेत्र माडीमा वितण्डा मच्चाउने ‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान गरिएको छ ।
बिहीबार चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र सौराहाको प्राविधिक टोलीले दाह्रा काटेर रेडियोकलर जडान गरी छाडेको छ ।
केही समयदेखि हात्ती प्रजनन केन्द्र खोरसोर रहँदै आएको मौका पारी रेडियोकलर जडान गरी ट्रयाकिङ गर्न सुरु गरिएको हो । रेडियो कलरमार्फत कसरास्थित निकुञ्जको कार्यालयबाटै हात्ती कहाँ कस्तो अवस्थामा छ भन्ने पत्ता लाग्छ ।
‘दाह्रा काटेपछि हात्तीले कमजोर महसुस गर्छ, जसले क्षति कम गर्छ’ चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण प्रकाश उप्रेतीले भने । ६ मंसिर २०६९ मा हात्तीको अनुगमन गर्न निकुञ्जले दाह्रा काटेर जीपीएससहित रेडियोकलर जडान गरेको थियो । १५ पुसदेखि हात्ती सम्पर्कविहीन भयो ।