पश्चिम नवलपरासीका भारतबाट लुकुछिपी नेपाल आउने क्रम अझै रोकिएन

विकास अधिकारी –
परासी, वैशाख १२ । पश्चिम नवलपरासीको सिमावर्ती स्थानीय तहका प्रमुखहरुले भारतसँग खुल्ला सिमानै कोरोना संक्रमण जोखिम नियन्त्रणको मुख्य चुनौती रहेको बताएका छन् । शुक्रबार पश्चिम नवलपरासीकै पहिलो रेडियो स्टेशन सामुदायिक रेडियो परासीको कार्यक्रम चासो र चर्चामा प्रत्यक्ष टेलिफोनमा संवाद गर्दै उनीहरुले सिमावर्ती क्षेत्रमा सुरक्षाकर्मी र आफूहरुले पनि निरन्तर निगरानी गरिरहेपनि एक दुई जना भित्रने क्रम नरोकिएको उनीहरुको भनाई छ ।
भारतमा कोरोना संक्रमण उच्च भैरहेको समयमा नेपाल पनि त्यसको उच्च जोखिममा छ । पछिल्लो समय भारत बाटै लुकिछिपी प्रवेश गरेकाहरुमा कोरोना देखिएपछि थप जोखिम देखिएको हो । सुस्ता गाँउपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले सिमा नाका बाट हुन सक्ने आवातजवात रोक्न हर सम्भव कोसिस गरिरहेको बताउनुभयो । ‘‘नारायणीमा चल्ने डुंगा बन्द गरिएको छ, सुरक्षाकर्मी परिचालीत छन्, स्थानीय समुदाय र कल्बहरु पनि परिचालन गरिएको छ तर पनि खुल्ला सिमाका कारण एक दुई जना अन्य पालीकाका चोर बाटो हुँदै आउने क्रम रोकिएको छैन्,’’ अध्यक्ष पाण्डेले भन्नुभयो ।
सुस्तामा केही दिन अगाडी मात्रै भारतबाट ४ जना मानिसहरु आएका थिए । उनीहरुलाई क्वारेन्टाईनमा राखिएको छ । त्यस अगाडी पनि भारतबाट २ जना आएकाहरुलाई क्वारेन्टाईनमा राखिएको थियो । सुस्तमा स्थानीय कल्बको सहयोगमा सिमामा खटिएका सुरक्षाकर्मीको सहजताका लागी बिजुली वत्तिको पनि व्यवस्था गरिएको छ ।
प्रतापपुर गाँउपालिकाका अध्यक्ष राजकुमार शर्माले सिमाबाट हुने आवतजावत बन्द रहेको बताउनुभयो । अहिले सिमावर्ती क्षेत्र चुनौतिको रुपमा रहेपनि मानिस आउने क्रम भने नरहेको दाबी गर्नुभयो । आएकाहरुलाई पनि रोकेर भारत तर्फ फर्काईएको बताउनुभयो । प्रतापपुरमा सबैभन्दा धेरै क्वारेन्टाईन सङख्या पुगेको थियो । ५५ जना क्वारेन्टाईनमा पुगेकोमा हाल ४२ जना घर फर्कीइसेका छन् ।
सरावल गाँउपालिकाका अध्यक्ष राधेश्याम चौधरीले खुल्ला सिमानका कारण चोर बाटोबाट रातीमा मासिनहरु प्रवेश गर्ने गरेको बताउनुभयो । त्यसका लागी गाँउ–गाँउमा माईकिङ्ग गरि जानकारी गराईएको र नयाँ व्यक्ति देखिनै वित्तिकै क्वारेन्टाईनमा लगेर राख्ने गरिएको पनि उहाँको भनाई छ । हाल सरावल गाँउपालीकाको क्वारेन्टाईनमा १२ जना रहेका छन् ।
यता पाल्हीनन्दन गाँउपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकले लकडाउन पछि पनि लुकिछिपी भारतबाट आउने क्रम नरोकिएको बताउनुभयो । ‘‘आफूहरुले पनि निरन्तर निगरानी गरिरहेको र शसस्त्र प्रहरीको टोली पनि सिमामा खटिएको छ तर पनि लुकिछिपी आउने गर्छन्,’’ अध्यक्ष गुप्ताले भन्नुभयो ।
शसस्त्र प्रहरीले अहिले अस्थाई पोष्ट खडा गरेर पश्चिम नवलपरासीको सिमा क्षेत्रमा खटिएको छ । अहिले पुरै सिमा क्षेत्रमा एक पोष्ट देखि अकोै पोष्ट देखिने गरी निगरानी भईरहेको छ । केही दिन अगाडी मात्रै भारतबाट नेपाल प्रवेश गर्न खोज्ने १० जनालाई भारतीय प्रहरीसँग समन्वय गरेर उतै क्वारेन्टाईनमा पठाईएको र सिमाना निगरानी कडा रहेको शसस्त्र प्रहरीले जनाएको छ ।