चितवनका संक्रमित युवा अस्पतालबाट डिस्चार्ज




चितवन । कोरोना संक्रमण पुष्टि भएपछि बैशाख ५ गते भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएका राप्ती नगरपालिका वडा नं. ८ का २७ वर्षिय युवालाई आज अस्पतालले ‘डिस्चार्ज’ गरेको छ। संक्रमण देखिएको एक हप्तापछि गरिएको दुईवटै परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि उनलाई आज डिस्चार्ज गरिएको हो। उनीसँगै संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी ६३ वर्षिया आमाको भने थप परीक्षण भोलि हुने अस्पतालले जनाएको छ।



एक हप्तापछि जाँच गर्दा पनि कोरोनाको संक्रमण देखिएपछि आमालाई अस्पतालको आइसोलेसनमै राखेर उपचार गराइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए। अस्पतालले डिस्चार्ज गरे पनि आज भने ती युवा अस्पतालमै बसेका छन्। आमाको भोलि परीक्षण हुने भएपछि रिपोर्ट आउने बेलासम्म बस्ने र आमामा संक्रमण नदेखिए दुवैजना सँगै घर जाने भनेर अस्पतालमै बसेको उनले बताए।

‘दुईपटकको निरन्तर परीक्षणमा नेगेटिभ देखिएपछि पूर्णरूपमा निको भएको प्रमाणि हुन्छ,’ डा तिवारीले भने, ‘तर, निको भएर घर गए पनि एक हप्तासम्म अरूको सम्पर्कमा नरहने भन्ने हुनाले डिस्चार्ज भएको बिरामी यहीँ बस्छु भन्दा पनि समस्या हुँदैन। त्यसैले अहिलेलाई हामीले यहीँ बस्ने व्यवस्था गरेका छौँ।’ आइसोलेसनमा छुट्टाछुट्टै राखिएाके हुँदा आमामा भएको संक्रमण छोरामा फेरि सर्छ भनेर डराउनुपर्ने अवस्था नरहेको उनले बताए।
‘हिजो संक्रमण पुष्टि भएर अस्पताल आउँदा पनि उहाँहरू सामान्य नै देखिनुहुन्थ्यो, बीचमा पनि कुनै प्रकारको लक्षण वा असर केही पनि देखिएको होइन,’ उनले भने, ‘अहिले पनि सामान्य नै हुनुहुन्छ।’ चितवनमा देखिएका दुईजना कोरोना संक्रमितमध्ये एक जना निको भएपछि अब एक जना मात्रै बाँकी रहेको छ।
हालसम्म गरिएका परीक्षणबाट अन्य व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छैन। संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिको नमुनाको पिसिआर परीक्षण गर्दा कसैमा पनि कोरोनाको संक्रमण नदेखिएपछि उनीहरू सुरक्षित साथ क्वारेन्टाइनमा बसिरहेका छन्।


सम्बन्धित
Loading...