चितवनमा बाँझो र प्लटिङ गरिएको जमिनमा बाली लगाउन सुरु


चितवन, १५ बैशाख । चितवनको रत्ननगर नगरपालिकाले खाली जमिन तथा प्लटिङ गरिएका जग्गाहरुमा मकैवाली लगाउन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र खाली जमिन तथा खेतीयोग्य जग्गाहरुमा प्लटिङका कारण बाँझै रहेका जग्गाको पहिचान गरेर बाली लगाउन सुरु गरेको हो ।






नगरपालिकाले जमिन जोत्नमा लाग्ने खर्च र वीउ उपलब्ध गराएर बिभिन्न समूह निर्माण गरी मकै बाली लगाउन थालेको नगरपालिकाका मेयर नारायण वनले जानकारी दिनुभयो । मेयर वनका अनुसार सोमबार मात्रै रत्ननगर १४ मा रहेको ३० बिघा प्लटिङमा जोत्ने काम भएको छ । लकडाउनका कारण केही महिनामै भोकमरिको समस्या उत्पन्न नहोस भन्दै बाँझो जमिन तथा खाली रहेका प्लटिङमा बाली लगाउने निर्णय भएको मेयर वनको भनाइ छ ।

नगरपालिकाले सुरुमा बाँझो रहेको जमिन तथा प्लटिङ कस्को हो भनि पहिचान गर्ने र त्यसपछि किसानहरुलाई उक्त खाली जमिनमा वाली लगाउन आग्रह गर्ने छ । नगरपालिकाले बाँझो जमिन आसपासका किसानहरुको समूह निर्माण गरी बाली लगाउने जिम्मा दिने छ । मेयर वनका अनुसार धेरै बाँझो तथा खाली प्लटिङ रहेको वडा नम्बर ४, १३ र ५ नम्वर लगात अन्य वडामा जग्गा खोज्ने काम भईरहेको छ ।

यसरि जग्गाको पहिचान गरेपछि नगरपालिकाले आँफैले जोत्ने र मकैको बीउ उपलब्ध गराउने छ, त्यसपछिको उत्पादन किसानहरुको हुने मेयर वनले बताउनुभयो । वडा नम्बर १४ पिठुवामा पर्ने ३० बिघा क्षेत्रमा लगाईएको मकैवालीमा किसानहरुको बिभिन्न समूह निर्माण गरी जग्गा छुट्याईएको छ ।

वडा नम्बर १४ का वडा अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार ५ जना किसानलाई एक बिघा जमिन उपलब्ध गराएको त्यस भन्दा थोरै संख्याका किसानलाई तीन तथा चार कठ्ठा जमिनको ब्यबस्था मिलाईएको छ ।



सम्बन्धित
Loading...