रौतहटमा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि
रौतहट । रौतहटमा थप दुई जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको अस्पतालका इमर्जन्सी विभागका प्रमूख डा उदय नारायण सिंहले बताए । संक्रमित हुने वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुष छन् । वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए ।
जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ । त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष भने क्वारेन्टाइनमै छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।