कोरोना भाइरस नेपाल: ‘यतिखेर यात्रा गर्दा कोरोनाभाइरसको सङ्क्रमण तेस्रो चरणमा प्रवेश गर्ने जोखिम रहन्छ’


बीबीसी –



राष्ट्रव्यापी रूपमा मानिसहरूको हिंडडुल र जमघटमा बन्देज लगाएर ‘लकडाउन’ गरिएका बेला सङ्घीय राजधानी काठमाण्डू लगायत देशका विभिन्न भेगमा भित्रिने र बाहिरिने मानिसहरूको चाप बढ्नु चिन्ताजनक भएको चिकित्सकहरूले बताएका छन्।

वैज्ञानिक विश्लेषण अनुसार कोरोनाभाइरसको सङ्क्रमणको अवस्था नेपालमा दोस्रो चरणमा रहेको भनिएपनि सावधान नहुने हो भने यो सङ्क्रमणले व्यापकता पाउन सक्ने चिन्ता चिकित्सकहरूले व्यक्त गरेका छन्।




गत चैत ११ गते देखि लागु गरिएको लकडाउन सुरुवाती केही समय निकै व्यवस्थित देखिए पनि पछिल्ला केही हप्ताहरूमा भने क्रमिक रूपमा फितलो बन्दै गएको निष्कर्ष निकाल्दै गृह मन्त्रालयले लकडाउन कडाइका साथ कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई सोमवार निर्देशन दिनु परेको थियो।

सरकारले त्यस्तो निर्देशन दिएको भए पनि राजधानी उपत्यकाका नाका आसपास आइपुगेका सर्वसाधारणहरू विभिन्न बाटो हुँदै काठमाण्डू प्रवेश गरिरहेको विवरणहरू सार्वजनिक भइरहेका छन्।

कोरोनाभाइरसको सङ्क्रमण दोस्रो चरणबाट तेस्रोमा प्रवेश गर्न धेरै समय नलाग्ने हुँदा पनि थप सचेत रहन आवश्यक रहेको चिकित्सकहरूको भनाई छ।

सामान्यतया विदेशबाट आएका व्यक्तिमा मात्र देखिने सङ्क्रमणको चरणलाई पहिलो, तिनले आफन्त वा छरछिमेकमा सार्नेलाई दोस्रो र समुदायमा सङ्क्रमण फैलिने अवस्थालाई तेस्रो चरण भन्ने गरिन्छ।

काठमाण्डूको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले बीबीसीसँग भने, “नेपालमा अझै पनि समुदायमै कोरोनाभाइरसको सङ्क्रमण फैलिसकेको छ जस्तो मलाई लाग्दैन।

“तर त्यस्तो भनेर हामीले लकडाउनको अवज्ञा गर्न भने हुँदैन।”

“तेस्रो चरणमा नपुगे पनि भिडभाड गरेर एक ठाउँबाट अर्कोमा जाँदा एकजनामा सङ्क्रमण भए समुदायमा फैलन सक्ने सम्भावना उच्च रहन्छ,” डा. शेरबहादुर पुनले भनेका छन्।

सावधानी

यात्रीहरू

डाक्टर पुनका अनुसार काठमाण्डू प्रवेश गर्ने र काठमाण्डूबाट बाहिर जाने दुवै थरी व्यवहार नै सङ्क्रमण फैलन सक्ने हिसाबले जोखिमपूर्ण हुन्। उनी भन्छन् एक महिनासम्म लकडाउनमा रहेको स्थानमा बाहिरबाट नयाँ मानिसहरू प्रवेश गर्दा थप सावधानी अपनाउन जरुरी छ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय हवाई नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लामो समय देखि बन्द रहेको अवस्थामा काठमाण्डूमा नयाँ सङ्क्रमण फेला पर्ने सङ्ख्या कम हुँदै गएको छ।

उता नेपाल र भारतबीच करिब १८०० किलोमिटर लामो खुला सीमा छ।

“काठमाण्डूको अवस्था बिस्तारै अनुकूल हुँदै गएको जस्तो देखिन्छ भने काठमाण्डू बाहिर विभिन्न स्थानमा नयाँ सङ्क्रमणका घटना पुष्टि भइरहेको छ,” पुनले भने।

“कतिपय अवस्थामा गाडीमा लुकेर यात्रा गरेको भन्ने सुन्नमा आएका छन्। बसमा यात्रा गर्दा हुलमुल गरेरै आउनु पर्ने हुन्छ नै। यसले समूहमा सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई बल दिन्छ।”

नेपालमा हालसम्म ५२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



सम्बन्धित
Loading...