नारायणगढ रोटरीद्वारा गैडाकोटमा खाद्यान्न सहयोग

गैँडाकोट । नारायणगढ रोटरी क्लबले आज एक कार्यक्रमबीच गैँडाकोट नगरपालिका, वडा नं–३ मा अवस्थित केलादी र हर्दीका ८५ घरधुरी परिवारका २३८ जनाका लागि दैनिक आवश्यकीय खाद्यान्न सामग्रीहरू वितरण गरेको छ ।
गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, वडा नं–३ का अध्यक्ष शिवकान्त तिवारी, वडा नं–५ का अध्यक्ष नवराज कँडेल तथा नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानको उपस्थितिमा क्लबका अध्यक्ष रोटरियन सुसनलाल प्रधानले उक्त खाद्यान्नहरू वितरण गरेका हुन् ।
विश्वभर महामारीको रूपमा पैmलिरहेको कोरोना भाइरस र यसले सिर्जना गरेको सङ्कटको घडीमा केलादी र हर्दीका दैनिक ज्यालादारी गरी परिवार पाल्नुपर्ने मजदुरहरूको दयनीय अवस्था देखेर १५०० केजी चामल, २० केजी मस्यौरा र खाने तेल ५० लिटर वितरण गरिएको कार्यक्रम संयोजक गुणेश्वर महतोले बताए ।
गैँडाकोट नगरपालिका, वडा नं–३ मा रहेका भुजेल, गुरुङ, दलित, मगर र क्षेत्रीलगायत अन्य जातजातिहरूको दैनिक भरणपोषणमा सहयोग पुगोस् भन्ने हेतुले उक्त खाद्यान्नहरू वितरण गरिएको क्लबका सचिव यज्ञमुनि बज्राचार्यले बताए । दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने मजदुरहरूका लागि थोरै भए पनि राहत प्रदान गरिएको क्लबका अध्यक्ष सुसनलाल प्रधानले बताए ।