सेनाको गाडीले ठक्कर दिँदा भाइको मृत्यु, दिदी घाइते

बाँकेको कोहलपुरमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ महिला घाइते भएकी छिन् ।
कोहलपुर नगरपालिका–११ एनटिभी रोडमा नेपाली सेनाको वा १ ह. ६३४१ नंको गाडीले ठक्कर दिँदा भे४ प. ७६२० नंको मोटरसाइकलमा सवार कोहलपुर–२ का २४ वर्षीय किरण भुसालको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।
नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको सेनाको गाडी र मोटरसाइकलले एनटिभी रोड क्रस गर्दैगर्दा जुधेका थिए ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार सांंग्रिला डेभलपमेन्ट बैंक नेपालगञ्जमा २७ वर्षीया दिदी प्रतीक्षालाई लिन गएका किरणको मृत्यु भएको र घाइतेको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।