नवलपुरमा कोरोना परीक्षण सुस्त गतिमाः ८६० विदेशबाट आएको नवलपुरमा अहिलेसम्म ६० जनाको मात्र स्वाब परीक्षण
९ सय ५३ आरडीटी परीक्षण सबै नेगेटिभ

नवलपुर । नवलपरासीसँग सीमा जोडिएको जिल्ला चितवन र रुपन्देही कोरोना संक्रमित भेटिए पनि नवलपुरमा भने स्वाब संकलन गरी शंकास्पदहरुको स्वाव संकलन गरी परीक्षण गर्ने कार्य निक्कै सुस्त गतिमा अगाडि बढेको छ ।
नवलपुरमा अहिलेसम्म जम्मा ६० जनाको मात्र स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको छ । ति सबैको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बताए ।
विश्वमा कोरोना भाइरसको संक्रमण बढेपछि पूर्वी नवलपरासीमा मात्रै ८ सय ६० जना विदेशबाट नवलपुर भित्रिएका छन् ति मध्ये ६० जनाको मात्र स्वाब संकलन गरी परीक्षण गरिएको छ । त्यसमा पनि कतिपय नेपालमै रहेकाहरु पनि छन् ।
विदेशबाट आएका ८ सय बढीको स्वाब संकलन गरी परीक्षण गर्नै बाँकी रहेकोले नवलपुरमा अझै कोरोना संक्रमित छैन भनेर स्थानीय ढुक्क भएर बस्न सकेका छैनन् ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले भने शंकास्पद र उनका आफन्तहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको र आरडिटी परीक्षण पनि गरिएकाले नवलपुरमा संक्रमणको सम्भावना न्यून रहेको बताए ।
यसैबीच नवलपुरमा आईतवार १९ जनाको ¥यापिड टेष्ट गरेसँगै संख्या ९ सय ५३ जनाको र्यापिड टेष्ट भएको छ । ति सबैको नतिजा भने नेगेटिभ आएको छ ।
यस्तैबीच आइतबार एक प्रेस बिज्ञप्ति जारी गदै स्वास्थ्य कार्यालय प्रमुख चापागाईले अहिलेसम्म नवलपुरमा कसैलाई कोरोना भाईरस संक्रमण नदेखिएकोले हल्लाको पछि नलाग्न र अफवाह नफैलाउन आग्रह गरेका थिए ।
पेसबुकमा केही व्यक्तिले नवलपरासीमा एक जनामा कोरोना संक्रमण पोजेटिभ आएको स्टाटस राखेपछि दिनभर पूर्वी पश्चिम नवलपरासी दुवै जिल्लामा हल्लाखल्ला भएको थियो ।