मध्यपहाडी लोकमार्गमा कालोपत्रे गर्ने काम रोकियो
जाजरकोट– कोभिड–१९ बाट जोगिन र जोगाउन भन्दै मध्यपहाडी लोकमार्गको कालोपत्रको काम ठप्प भएको छ । जाजरकोट र रुकुम पश्चिमको करिब ४२ किलोमिटर काम ठप्प भएको हो ।
जाजरकोट, रुकुमपूर्व र रुकुम पश्चिम गरी २१४ किलोमिटर सडक मध्यपहाडी लोकमार्गअन्तर्गत पर्दछ । लकडाउनका कारण राष्ट्रिय गौरवको आयोजनाका काम नरोक्ने सरकारी निर्णय भए पनि मध्यपहाडी लोकमार्गको काम मजदुर अभावकै कारण रोकिएको छ । रुकुम र जाजरकोट खण्डको काम रोकिएपछि तोकिएको समयमा निर्माण नहुने पक्का भएको छ ।
आयोजनाले रुकुम खण्डमा आगामी असार मसान्तभित्र कालोपत्र गरिसक्ने लक्ष्य लिएको थियो । सानीभेरी–चौरजहारी सडकखण्डको ३२ किलोमिटर कालोपत्रको काम करिब एक महिनादेखि रोकिएको लोकमार्गको दैलेख आयोजना कार्यालयले जनाएको छ ।
