रामग्राम राहत वितरण अनियमितता प्रकरणः कुहिएको चामल बच्ने बनियाँ धरौटीमा छुटे

0



परासी, बैशाख २२ । 

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वितरण गरेको राहत चामल प्रकरणमा जेलमा रहेका राजेश राइस मिल परासीका व्यवसायी पटवारी वनियाँ सोमबार धरौटीमा छुटेका छन् । चामल प्रकरणका ७३ वर्षीया वनियाँलाई दुई वटा मुद्दा दायर गरिएको थियो ।




व्यवसायी वनियाँले नगरपालिकालाई राहतका लागि उपलब्ध गराएको चामल न्यून गुणस्तर र नेपाल सरकारको मापदण्ड विपरीत रहेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो । अदालतमा ५० हजार र जिल्ला प्रशासन कार्यालयमा १० हजार धरौटी बुझाए पछि उनी जेल मुक्त भएका हुन् ।

जिल्ला अदालतमा दायर गरिएको मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । थुनामा रहेका वनियाँले उच्च अदालत तुलसीपुर बुटवल इजलाशमा थुना मुक्त हुनका लागि निवदेन पेश गरेका थिए । निवेदनका आधारमा उच्च अदालतले ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएकाले उनलाई छाडिएको जिल्ला अदालतका श्रेस्तेदार डिल्ली शर्माले जानकारी दिनुभयो ।

यसैगरी व्यवसायी वनियाँले खाद्य उद्योगको उत्पादन तथा बिक्री वितरणका लागि अनुज्ञापत्र नलिई व्यवसायी सञ्चाल गरेको अभियोगमा जिल्ला प्रशासनमा मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामा अनुसन्धान हुँदा १० हजार धरौटी लिइ तारेखमा छाडिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिनुभयो ।

यता व्यवसायी वनियाँ उपर गुणस्तर तथा नाप तौल कार्यालय बुटवलले घटी तौलमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । वनियाँले तौल कमी गरी चामल उपलब्ध गराएको आरोप छ । उनको बयान सकिएकाले अदालतमा मुद्दा चलाउने प्रकृया सुरु गर्न लागिएको गुणस्तर तथा नाप तौल कार्यालयले जनाएको छ । नगरपालिकाले २३ सय विपन्नका लागि प्रतिघरधुरी ५÷१० र १५ केजी सोना मनसुली (मोटा)चामल र सोहीअनुसारका अन्य खाद्यन्न वितरण सुरु गरिएको थियो ।

चैत २८ गते रामग्राम नगरपालिकाले वितरण गरेको चामल खान योग्य नभएको र कम तौल भएको भन्दै केही विपन्नहरुले खाद्यन्न सामाग्री नगरपालिकाको गेट अगाडी फालेका थिए । नगरपालिकाले २ सय ५० क्विन्टल वनियाँको राईस मिलबाट खरिद गरेको थियो । १० लाखमा खरिद गरिएको चामलको मूल्य प्रति केजी ४० रुपैयाँ छ । यसैबीच राहत सामग्री खरिद प्रकृयाबारे अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले पनि नगरपालिकाबाट कागज पत्र लगेर अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...