बुद्ध जयन्तीको अवसर र कोरोनाविरुद्धको लडाइ जित्न आजसाँझ दिप प्रज्ज्वलन गर्न मुख्य मन्त्री पोख्रेलको आग्रह
रामकुमार श्रेष्ठ –
२५ बैशाख । प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोख्रेलले आज परेको २५६४ औं बुद्धजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै घरघरमा सबैलाई आज साँझ दिप प्रज्ज्वलित गर्न आग्रह गरेका छन् ।
सरकारले आज बुद्ध जयन्तीको अवसर पारेर कोरोनाबाट संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै देशभर दीप प्रज्ज्वलन गर्ने निर्णय गरेको थियो ।
प्रदेश ५ का मुख्य मन्त्री पोख्रेलले शुभकामना सन्देशमा भनेको छन् – ‘२५६४ औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
मुख्यमन्त्री पोख्रेलले गौतम बुद्धलाई इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६४ वर्ष अघि लुम्विनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध विश्व शान्ति र मानव कल्याणका अग्रदुत भएको बताउँदै वुद्धका उपदेश आज स्थापित वुद्ध दर्शन बौद्ध धर्मावलम्वीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमुल्य निधि भएका बताएका छन् ।
उनले प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा धेरै स्थलहरु माटो मुनि दविएर रहेका उल्लेख गर्दै ती सम्पदास्थलको अन्वेषण गर्दै मानव जातिको अमुल्य निधिका रुपमा संरक्षित गर्नु आवश्यक रहेकोमा जोड दिएका छन् ।
मुख्यमन्त्री पोख्रेलले वुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिक स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा, अरौराकोट, सग्रहवाको खोज अनुसन्धान तथा पर्यटकीय हिसावले ती क्षेत्रको विकास जरुरी रहेकोमा समेत जोड दिएका छन् ।
मुख्यमन्त्री पोख्रेलद्वारा जारी शुभकामना सन्देशको पूर्ण पाठ
बुद्ध जयन्तीको शुभकामना
२५ बैशाख, २०७७
२५६४ औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
इसापूर्व ५६३ अर्थात आजभन्दा २५६४ वर्ष अघि लुम्विनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध विश्व शान्ति र मानव कल्याणका अग्रदुत हुनुहुन्छ । वुद्धले मानव कल्याण, अहिंसा र शान्तिको खोजीका लागि २९ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकार सहित गृहत्याग गर्नुभयो । हिंसा र दुखको कारणको खोजीमा गृह त्याग गर्नुभएका सिद्धार्थ गौतम् वुद्धले भातृत्व र मानव कल्याणका लागि महान दार्शनिक विचारवाट समाजलाई दिक्षित गर्नु भयो । र, मानिसलाई सत्कर्मको वाटोमा हिडाउन सफल हुनु भयो । वुद्धका उपदेश आज स्थापित वुद्ध दर्शन बौद्ध धर्मावलम्वीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमुल्य निधि भएका छन् ।
प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा धेरै स्थलहरु माटोमुनि दविएर रहेका छन् । ती सम्पदास्थलको अन्वेषण गर्दै मानव जातिको अमुल्य निधिका रुपमा संरक्षित गर्नु आवश्यक छ । यस अवसरमा वुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिक स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा,अरौराकोट, सग्रहवाको खोज अनुसन्धान तथा पर्यटकीय हिसावले ती क्षेत्रको विकास जरुरी रहेको छ । बौद्ध सम्पदास्थलको खोज र अनुसन्धानका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयसंग सहकार्य अघि बढेको छ । पर्यटन प्रवद्र्धनको लागि बृहत्तर ढंगले काम गर्न आवश्यक छ । त्यसका लागि पनि हामी योजनाबद्ध रुपले अघि बढिरहेका छौं ।
लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने नाराका साथ अघि बढेको लुम्बिनी भ्रमण वर्ष कार्यक्रमको औपचारिक समापन गर्न असमर्थ भएका छौं । लुम्बिनीमा हुने बुद्ध जयन्तीको भव्य कार्यक्रम पनि हुनेछैन् । यतिखेर विश्व कोरोना भाइरस विरुद्ध लडिरहेको छ । यो लडाईमा हामी पनि छौं । कोरोना विरुद्धको लडाईलाई सफल पार्न मुलुक डेढ महिनादेखि लकडाउनमा छ ।
विश्व शान्तिको कामनाका लागि र कोरोना विरुद्धको अग्रमोर्चामा खटिएका चिकित्सक सहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा सबैले आज साँझ घर—घरमा दीप प्रज्ज्वलन गरौं । लकडाउनको पालना गर्दै सबै घर—घरमा बस्न सक्दा मात्रै कोरोना विरुद्धको संघर्षलाई सफल बनाउन सकिन्छ । तसर्थ म यस अवसरमा लकडाउनको पूर्ण रुपमा पालना गरी आफू पनि सुरक्षित हुन र अरुलाई पनि सुरक्षित बनाउन हार्दिक अपील गर्दछु ।
२५६४ औ बुद्ध जयन्तीको अवसरमा पुनः सम्पूर्ण दिदीवहिनी तथा दाजु भाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
मुख्यमन्त्री
शंकर पोखरेल
