सुरक्षा सतर्कता अपनाउन प्रशासनको आग्रह


चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सेवा प्रवाहमा उच्चस्तरको जोखिमरहित सुरक्षा सतर्कतासहितको सेवा प्रवाहको व्यवस्था मिलाउन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ ।



सेवा प्रदायकहरु रोगको संक्रमण रोकथाम तथा नियन्त्रणमा उदासीन रहेको, अत्यावश्यक सेवाको पहिचान नगरी सामान्य अवस्थामा जस्तै गरी सेवा दिने गरेको र अत्यावश्यक सेवा प्रवाहको कुनै व्यवस्थित तालिका नरहेको भन्ने जनगुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको प्रशासन कार्यालयले जनाएको छ ।

कोभिड-१९ को संक्रमणको जोखिम हुने गरी सेवा प्रवाह गरेको पाइएमा त्यस्ता प्रदायकहरुको सेवा तत्काल बन्द गर्न सक्ने गरी अधिकारप्राप्त अनुगमन टोली खटाइएको कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी जरुरी सूचनामा उल्लेख गरिएको छ । त्यस्तो अधिकारप्राप्त अनुगमन टोली भोलि बिहीबारबाट खटिने सहायक प्रजिअ शर्माले जानकारी दिए ।




विशेषगरी बैंक, वित्तीय संस्था, स्वास्थ्य संस्था, औधोगिक व्यापारिक प्रतिष्ठानहरुमा बढी भीडभाड हुने गरेको देखिएको प्रशासनले जनाएको छ । अत्यावश्यक कार्यका लागि भनेर गरिने कार्यले रोगको संक्रमणको जोखिम बढ्न सक्ने देखिएमा त्यस्ता कार्यहरु क्षम्य नहुने सूचनामा भनिएको छ ।

प्रशासन कार्यालयले अत्यावश्यक सेवा प्रदायकहरुलाई दुईवटा विकल्प पनि दिएको छ । रोगको संक्रमण नहुने गरी सेवा प्रवाह गर्ने वा बन्द गर्ने गरी दुई विकल्प सेवा प्रदायकहरुलाई दिइएको छ ।

‘सेवा प्रवाह हुने स्थान कार्यालय र प्रतिष्ठानमा रोगको संक्रमण नफैलिने गरी सेवाग्राही÷ग्राहकहरुको व्यवस्थापन गर्ने दायित्व सम्बन्धित सेवा प्रदायकको नै हो’, सूचनामा भनिएको छ, ‘त्यसका लागि मापदण्ड बनाई लागू गराउने र त्यसरी लागू गराउँदा अटेरी गर्ने सेवाग्राही/ग्राहकहरुको बारेमा सुरक्षा निकायमा खबर गरी कारबाही गराउने जिम्मेवारी सम्बन्धित सेवा प्रदायक निकायको हुन्छ ।’



सम्बन्धित
Loading...