कोरोना महामारीः अवसर र चुनौती




सदानन्द अभागी –
ईश्वरले यो संसारको सृष्टि गरे र यसलाई व्यवस्थित गर्नको लागि स्थलचर, जलचर, नभचर, विविध वनस्पति आदि चीजहरूको आवश्यक्ता अनुसार सिर्जना गरे । हाम्रो धर्मशास्त्र अनुसार ८४ लाख योनी पार गरेर मात्र अमूल्य मानव योनी प्राप्त गरिन्छ । यी ८४ लाख योनीमा मानिस एउटा सचेत प्राणीको रूपमा गणना गरिन्छ । मानिसले संसारका विविध चीजमा अधिपत्य जमाउन कसरत गरिरहेका छन् । प्रकृतिसँग लड्न खोजी रहेका छन् तर प्रकृति माथि विजय प्राप्त गर्न मानिसले सकेको छैन । प्रकृतिलाई स्वच्छ रूपमा अगाडि बढ्नको लागि अवरोधको सिर्जना गर्ने प्रयासमा निरन्तर लागि रहेका छन् । मान यस्तो प्राणी हो विकास र विनासमा जुटिरहेको हुन्छ । मानिसकै कारण जङ्गलको विनास भै रहेको छ र कतिपय पशुपंक्षीहरू लोपोन्मुख अवस्थामा पुगेका छन् ।
हुन त प्रकृतिले आफ्नो संतुलन आँँफै मिलाउँछ भन्ने कुराहरु पनि हामीले अध्ययन गर्न पाउँछम् । हाम्रा धर्म शास्त्रहरूले पृथ्वीमा अन्याय अत्याचार बढ्छ र त्यो भार सहन गर्न पृथ्वीले नसक्ने भए पछि भगवानले विविध अवतर लिएर पृथ्वीका भार गराउने दानवहरूलाई नास गरेर शान्ति कायम गरेका कुराहरू उल्लेख गरेका छन् । महाभारतको युद्ध नै किन नहोस् राम र रावणको युद्धमा मानव तथा दानवको ठूलै क्षति भएकै थियो । महाभारतको युद्धमा पाण्डवले कौरवलाई हराएर आफ्नो राज्य फिर्ता गराएका थिए भने राम र रावणको युद्धमा रामले रावणलाई मारेर विभिषणलाई राज्य दिलाएर सीता लिएर फर्कनु भयो । आज पनि यस्ता किसिमका साना ठूला युद्धहरू भै राखेका छन् । ठूला देशले साना राष्ट्रहरुलाई हस्तक्षेप चलाई रहेका छन् । यी रहे मानिसले मानिसमा गरेका अमानवीय घातक परिणामहरू जस्ले मानवमात्र नभै आर्थिक सामाजिक, राजनैतिक, सांस्कृतिक, शैक्षिक आदि आदिमा ठूलो नोक्सानीहरू मानिसले व्यहोर्न परिरहेको छ ।

प्राकृतिक प्रकोपबाट हुने क्षतिहरू–
संसारमा प्रकृतिले पनि विविधरूपमा जनधनको क्षति पु¥याएको छ जस्तै भूँइचालो जानु, ज्वालामुखी फुट्नु, पैरो जानु, नदी कटान, जङ्गलमा आगो लाग्नु, विविध रोगव्याधी लाग्नु आदि आदि । प्राकृतिक प्रकोपको रूपमा हेर्दा नेपालमा भूइँचालोको प्रकोप धेरै देखिन्छ । भूकम्पको जोखिम तथ्याङ्कको रूपमा हेर्दा राजा अभय मल्लको शासान कालमा ७ जुन १२५५ मा ७.८ रेक्टरको भूइँ चालो गएर २,२०० मानिसको क्षती भएको विवरण इतिहासले दर्शाउँछ । साना साना कम्पन त भै नै रहन्छन् तापनि हरेक १०० वर्ष अन्तरालको वरिपरि नेपालले भूकम्पको ठूलो क्षती व्यहोर्ने गरेको छ । ई.सं २०१५ को अप्रिल महिनाको २५ तारिखमा गोर्खा जिल्लालाई केन्द्र विन्दु बनाएर आएको भूकम्पले करिव नौ हजार जनाको मृत्युवरण भएको र करिव ६ लाख संरचनाहरू ध्वस्त भएका थिए । यो क्षतिलाई हालसम्म सरकारले पुननिर्माणलाई पूर्णता गर्न सकेको छैन । मानिस तथा पशुपंक्षीमा हरेक वर्ष जंङ्गलमा आगो लगाउने चलनले क्षति भएको समाचार हामीले सुनिरहेका हुन्छौं । राष्ट्रिय निकुञ्ज लगायत विविध ठाउँमा आगो लाग्दा मानिस मर्नुको साथै असंख्य पंंक्षी कीट पतङ्गहरू डढछन् भने वायुमण्डल नै दुषित बन्न जान्छ । नदीकटान र पहिरोबाट पनि नेपालमा वर्षैपिच्छे नोक्सान पु¥याएको छ । नेपालमा ज्वालामुखीको समस्या त छैन तर इण्डोनेसिया,कोलम्विया, जापान जस्ता देशमा ज्वालामुखीले निम्त्याएका जनताको मृत्युलाई स्मरण गर्दा नै मानव मन काम्न थाल्छ ।




रोगव्याधी –विश्वमा विविधखाले रोगको महामारीले पनि ठूलो धनजनको क्षती भएको पाइन्छ । मेरो जन्म २००३ सालमा भएको हो मैले जान्ने हुँदाको अवस्थामा हैजाले मानिस मरे अरे भन्ने सुनेको थिएँ । औषधी उपचारको कमी र हैजा लागेपछि शरिरमा पानीको मात्र कमी हुँदै गएर मानिस मर्न सक्छ पानी खानु पर्छ तथा नुन चिनी पानी खाएर पनि केही हदसम्म हैजालाई रोक्न सकिन्छ भन्ने ज्ञान नहुँदा मानिसको जीवन लीला समाप्त हुन्थ्यो । आँठे लागेर मानिसको ज्यान जान सक्छ भन्ने बुढाबूढीबाट सुनिन्थ्यो । आँठे भनेको बिमार लागेको आठ दिनमा निको हुने या मानिस मर्ने एक किसिमको सरुवा हुने महामरी रोग हो । औल लाग्नु वेंसी तथा मधेस तराईमा लामखुट्टेको टोकाइबाट आउने जरो होे । अर्को समाजबाट तिरस्कृत हुने रोग जसलाई कोर भनिन्थ्यो । यो रोग लागेका मानिसलाई समाजदेखि अलग्याएर राखिन्थ्यो तर आज आएर रोगको उपचार हुन थाल्यो र रोगी सपरिवारमा बस्न पाउने भयो तर पनि कोर लागेको मानिसबाट आज पनि मानिसहरू त्रसित देखिन्छन् । समय समयमा विश्वलाई थर्काएर मानिस मार्ने महामरीलाई इतिहासबाट जानकारी पाइन्छ । उदाहरणको लागि हामीले स्वायनप्लूलाई लिन सकिन्छ । एक समय थियो स्वायन फ्लूको महामारी । बंगुर तथा सुगुरमा लाग्ने यो रोगले एक पटक संसारलाई थर्कायो र धेरै मानिसको ज्यान लियो । अको डरलाग्दो रोग बर्डफ्लू आयो यसले मानिस र कुखुरामा ठूलै असर पारो । हजारौं कुखुरा मारिए तथा मानिसको ज्यान पनि लियो । नयाँ रोग चाइनाको बुहानमा देखियो ।यस रोगले तीब्ररूपमा यसरी फैलियो कि यसले विश्वलाई नै थर्कमान गरायो । आज संसार लकडाउनमा छ । यसले सारा विश्वलाई विना कसुरका कैदीको रूपमा परिणत गरेको छ । नयाँ भाइरस भएकाले न यसको औषधी नै निर्माण भएको छ न भ्याक्सिन नै । विभिन्न मेडिया बाट विभिन्न किसिमका सन्देशहरू प्रवाह भएका छन् । लेखक तथा साहित्यकारहरूका कलम चलेका छन् । विविध सन्देश हामीले सुन्न पाएका छौं । कसैले यो रोगलाई यो मानिसबाट निर्माण गरेको भाइरस हो भनेका छन् भने कसैले प्रकृतिको उपज हो भनेका छन् । जे जसरी यो भाइरस अचानक विश्वभरी नै फैलियोै यस्तो होला भने कुरा भने कसैले कल्पना समेत गरेका थिएनन् ।

कोरोना भाइरसका लक्षणहरू– मैले मेरो परिवारलाई लिएर मध्य विन्दु अस्पतालमा गएको थिए । अस्पतालमा सबैले देख्ने गरी कोरोना रोग लागेमा यस प्रकारका लक्षणहरू देखा पर्दछन् भनि व्यानरमा लेखेको देखें त्यही साभारमा लेखिएका लक्ष्णलाई साभारको रूपमा मैले यहाँ उतार गरेको छु–
नियमित रूपमा साबुन पानीले हात धुाने, यदि फ्लूजस्तो लक्षण देखिएमा घरमै आरा मगर्ने, जंगली तथा घरेलु पशुपंक्षीबाट असुरक्षित सम्पर्क बाट टाढा रहने, खोक्दा आछ्यूँ गर्दा नाक र मुख छोप्ने, फ्लूजस्तो लक्षण देखाउने जो कोहीबाट पनि टाढा रहने र पशुजन्य मासु अण्डा राम्रोसँग पकाएर मात्र खाने ।

सरकारले अवलम्वन गरेको नीति –कोरोना भाइरसको रोक थामको लागि सबै देशले अवलम्वन् गरेको नीति लकडाउन नै हो नेपालले पनि ढिलै गडरेर पनि लकडाउन नै अपनाएको छ । लकडाउन त गरियो तर यसलाई सर्वसाधरण जनताको बुझाई एकै किसिमको भएन र यण्सलाई पूर्णरूपमा पालन गरेको देखिदैन । सर्वसाधरणले विदेशबाट आएकाहरूसँगमात्र दूरी कायम गर्नु पर्ने भन्ने बुझाई जस्तो देखिन्छ । हुन त नेपालमा कोरानाको संख्या अरु देशको तुलनामा कम भएको देखिन्छ तर दिन प्रति दिन संक्रमितको संख्यामा बृद्धि हुँदै आएको छ । यस्तो महामारीको समयमा सरकार, सबै दलहरू, एकजुट भएर कोरोना जस्तो महामारीबाट जनतालाई बचाउनुको साटो, सरकारले विधेएक ल्याएर, जनताको संरक्षण भन्दा आफ्नो कुर्सी बलियो बनाउने प्रयासले गर्दा न त सरकार सफल हुन सक्यो न त लकडाउनलाई पूर्णरूपमा सफल बनाउन नै सक्यो । सत्तारूढ दलबाटै विरोध आयो र सत्तारूढ दलकै युवाहरू नाराबाजीको साथमा सडकमा उत्रे । विदेशमा रहेका नेपाली मज्दूरहरूको संकटमा फसेका खवर र कोरोनाको आक्रमणबाट हुन गएको मृत्युको समचारले नेपालमा रहेका हामी सबै दुखित हुन पुगेका छौं । तिनको उद्धारमा जहाँ छौ त्यही बस भन्ने सिवाय अरू केही हुन सकेको देखिदैन । भनिन्छ ५०लाख युवाहरू रोजगारको सिलसिलामा विदेशमा गएका छन् । यिनको व्यवस्थापन पनि बाहिर भने जस्तो सहज अवस्य छैन तर व्यवस्थापन सहज छैन भनेर सरकारले यिनको व्यवस्थापन भने गर्नै पर्ने हुन्छ । नयाँ पत्रिकाले संकलन गरेको २०७७ साल बैसाख २१ गतेको कोरोना अपडेट अनुसार मृत्यु हुने विश्वभर गैरआवासीय नेपालीको संख्या ७३ पुगेको र संक्रमित संख्या ५००० भन्दा बढी भएको छ ।

राहत वितरण –सबैले जानेकै कुरा हो कि रोगको कोरोना भन्दा भोकको क्रन्दन ठूलो हुन्छ । लकडाउनमा रहेका असाहाय मज्दुर तथा विपन्न पविारमा सर्बसुलभ र आवश्यक्ताको पहिचान गरी यथेष्ट राहतको विवरण हुनु पर्दछ । यस सम्बन्धमा पनि विभिन्न मेडियाको समचारबाट राज नीतिकरण भएको, खान लायक नभएका चामल बाँडिएको, नागरिकताको प्रमाणपत्रको आधारमा राहत बाँडिएको आदि आदि समचार सुन्दा जो कोहीको पनि मन कुडिन सक्नु पर्छ र यस अवस्थामा नागरिकको बाँचन पाउने अधिकारलाई कुण्ठित नगरी सबै सबैले गरिबहरूले पाउनु पर्ने हुन्छ । नागरिकता नभएका जनताले पनि खान पाउनु पर्छ र बाँचन पाउनु पर्छ । यस्तो भयङ्कर जीवन मरणको घडीमा पनि सबै जनताले सेवा पाउनको सट्टा भ्रष्टचारको समचारले अखबारका पाना भरिनु राम्रो होइन । आजको आवश्यक्ता भनेको मानव जीवनमात्र हैन पशुपंक्षीहरू पनि बाँचनु पर्छ अनि भविष्यको लागि मानिस र पशुपंक्षीको खाना दाना सबै संतुलनको रूपमा उत्पादन हुनु पर्छ । वर्तमान अवस्थामा नेपालको उत्पादनले नपुगेर डेडकरोड भन्दा बढी मूल्यको खाद्यान्न हामीले भारतबाट आयत गर्ने गरेका छौं । भारतमा पनि लकडाउन छ र लकडाउनको असर भारतको उत्पादनमा पर्न सक्छ । सरकारी तथ्याङ्क अनुसार ५० लाख युवाहरू विदेशमा कार्यरत छन् र ती देशले पनि कोरोनाको कारणले गर्दा उद्योगधन्दा बन्द भएर आफ्नै देशमा जाऊ भनेर अलपत्र परेका सन्देशहरू पनि आएका छन् । प्रदेशबाट सबै देशमा फर्कने हो भने भोकमरीको महामारी नआउला भन्न सकिदैन । त्यसो हुँदा लकडाउनमा परेका कृषकलाई उत्पादन सामाग्री घरघरमा उपलब्ध गराउनु अति आवश्यक छ भने कृषकको उत्पादनलाई सरकारले उठाएर बिक्री गर्न व्यवस्था मिलाई दिनु पर्छ । किसानको मनोबल घट्न दिनु हुँदैन र उनको उत्पान खेर जान दिनु हुँदैन । दूध तरकारी फलपूmल चाँडैनै सडेर जान्छन् भने उपभोक्ताले पनि किनेर सञ्चित गरेर लामो समयसम्म राख्न सक्दैनन् । नेपाल जस्तो कृषि प्रधान देशका कृषकको मनोबल दह्रो भयो र उसको उत्पादन खेर जाँदैन भन्ने दृढ विश्वास भयो भने मात्र उसले कृषिमा ढुक्क भएर उत्पादन बढाउँछ ।

कोरोना भाइरसले ल्याएको विविधतामा ह्रास – कोरोना भाइरस हालसालै देखिएको सरुवा रोग हो । यसको हालसम्म न त खोप नै विकसित भएको छ न त औषधी नै । जव कोरोना भाइरस देखियो र यसको यति तीब्ररूपमा सन्देश एवम् रोग फैलियो कि यसले मानव मष्तिष्कमा नै कोरानाले स्थान लियो । मानिस निकै त्रसित भए । यो रोग लागेपछि मरिन्छ भन्ने त्रासले गर्दा मानवीय सोचमा परिवर्तन आएको देखिन्छ । खास गरेर पहिला पहिला पनि आँठेले गाउँका गाउँ समाप्त बनाएक कुराहरू सुन्नमा आएका हुन्थे ।आजको जस्तो औषधीको उपलब्धता गाउँ गाउँमा थिएन । मानिसले आफ्नै गाउँमा भएका जडीबुटीलाई प्रयोगमा ल्याउँथे र सावधान हुन्थे । बेसार पानी तताएर प्रयोगमा ल्याउँथे । रोग आउँछ जान्छ यसका पछि लाग्न हुँदैन मानिसमा दृढ अठोट थियो । उनीहरूमा रोगसँग जुध्न सक्ने लह्रो आत्मबल थियो तर आज मानिसमा त्रासले जितेको छ । आत्मबलमा आएको ह्रासले गर्दा मानिस कमजोड बन्दै गएको छ । रोगबाट बच्ने भनिएका सन्देशलाई आत्मसात गर्दै कोरोना भन्ने शब्दलाई मन मस्तिष्कबाट हटाएर आजको यो संघर्षबाट मुक्ति पाउनको लागि अगाडी बढ्नु पर्छ ।
आज लकडाउनले गर्दा व्यपार व्यवसाय, उद्योगधन्दा आदि सबै चिज बन्द भएका छन् । आर्थिक अवस्था कमजोड बन्दै गएको छ । घरभित्रबाट भोका क्रन्दनहरू सुनिन थालेका छन् । त्यसो हुँदा आज मात्र नभएर भोलीकादिनमा आइलाग्ने आर्थिक, खाद्यान्न लगाएतका सबै कामलाई अग्रसरता दिने गरी सुरक्षित रूपमा लकडाउनबाट अवतरन हुनै पर्छ । सरकारले जनस्वास्थ र जनभोकलाई मध्यनजर राख्दै, स्वरोजगारको अवसर जुटाउँदै, विदेशमा तडपिएका जनतालाई स्वदेश भित्र्याउँदै अगाडी बढ्नु पर्छ । लकडाउन कोरोनाबाट बच्ने महत्वपूर्ण पक्ष हुँदा हुँदै पनि लकडाउन कोरोनाको रोक थामको एक मात्र उपाय हैन । उपाय त जनमानसमा यो रोगबाट बच्नको लागि अपनाउन पर्ने सावधानी र उपायहरूको अवलम्वन हो ।



सम्बन्धित
Loading...