बर्दघाट नगरपालिकामा साउन १ गते पछि सुर्तीजन्य वस्तु बेचबिखनमा रोक


नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले मंगलवार नगरक्षेत्रका थोक बिक्रेताहरुलाई सुर्ती तथा सुर्तीजन्य पद्धार्थ बेचबिखन नगर्ने प्रतिबद्धता गराएको छ । नगरले लकडाउनको मौका पारेर सुर्ती तथा सुर्तीजन्य पद्धार्थको बेचबिखन गर्ने थोक बिक्रेताहरुलाई नगरमै बोलाएर अन्तरक्रिया गरेको हो ।
अन्तरक्रियामा नगरक्षेत्रमा थोक पसल संचालन गर्ने ब्यवसायीहरु सहभागी रहेका थिए । सहभागीहरुलाई नगरले साउन १ गते पछि सुर्ती तथा सुर्तीजन्य पद्धार्थ बेचबिखन नगर्ने प्रतिबद्धता गराएको थियो ।
कार्यक्रममा सहभागी बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले ब्यवसायीहरुले अन्तरक्रियामा साउन १ गतेबाट सुर्ती चुरोट बेचखिन नगर्ने प्रतिबद्धता जनाएको जानकारी दिए । उनले संघको पहलमा ब्यवसायी र नगरपालिकाबीच अन्तरक्रिया भएको बताए ।
त्यस्तै थोक ब्यवसायी छविलाल देवकोटाले नगरपालिकाको प्रस्तावमा असार मसान्त सम्म रहेका सुर्ती तथा सुर्तीजन्य पद्धार्थ र गुटखाको स्टक सक्ने र साउन १ गते पछि बेचबिखन नगर्ने प्रतिबद्धता जनाएको बताए । उनले नगरपालिकालाई आफूहरुले त्यस सम्बन्धि सुझाव समेत दिएको बताए ।
बर्दघाट नगरपालिका स्वास्थ्थ शाखा प्रमुख माधव ज्ञवालीले सुर्तीजन्य पद्धार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन नियम तथा निर्दे्शिका २०६८ बमोजिम ब्यवसायीहरुलाई प्रतिबद्धता गराएको जानकारी दिए ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले चालु आर्थिक बर्षको कार्यक्रम अनुसार नै कार्यक्रम भएको र लकडाउनका बेला सुतीजन्य पद्धार्थ ओसारपसारमा समेत कमी आएकोले यही मौकामा ब्यवसायीलाई बोलाएर प्रतिबद्धता गराएको बताए ।
अन्तरक्रिया नगर प्रमुख धीरज शर्मा बस्यालको अध्यक्षता स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीको संचालनमा भएको थियो ।



सम्बन्धित
Loading...