कोभिड–१९ ले मृत्यु भएकी महिलाको शब आर्यघाट पु-याउने अरुण भन्छन्–‘शब -याप गर्नै २० मिनेट लाग्यो’
काठमाडौं । कोभिड– १९ को संक्रमणले धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिलाको शब आर्यघाटसम्म पु-याउनु अघि अरुण सैजुको टोली भक्तपुर अस्पतालका लागि प्रहरी र सेनाको टोलीसँग मिलेर प्लास्टिक आइसुलेसन वार्ड बनाउँदै थियो । आइसुलेसन बनाउने काम सकिएको मात्र थियो, धुलिखेल अस्पतालबाट कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शब आर्यघाटसम्म पु-याउने कोही भएनन भन्ने खबर आयो ।
‘काभ्रे छिमेकी जिल्ला हो, यो काम हामीले किन नगर्ने ?’ अरुण सैजुको टोली शब अस्पतालबाट आर्यघाटसम्म पु-याउन अघि स-यो । रिक्स एन्ड अवारनेस– १६ (आरएनए–१६) अरुणको टोली हो । विभिन्न १६ वटा प्राकृतिक प्रकोपमा सचेतना फैलाउने अरुणको टोलीले यी विधामा तालिम, अनुभव र दक्ष्यता हासिल गरिरहेको छ ।

महिलाको शब आर्यघाटमा पु-याउनुअघि आर एन्ड ए–१६ टोलीले भक्तपुरमा सम्भावित संक्रमित व्यक्तिबाट संकलिन गरिएको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पु-याउने काम गरिरहेका थियो । त्यत्ति मात्र होइन, संक्रमित व्यक्तिलाई सेवा दिनेलगायतका काम उनीहरुले गरिरहेका थिए ।
टोलीका प्रायः सबै सदस्य स्काउट पृष्ठभूमि भएकाले उनीहरुलाई यो क्षेत्रमा लाग्ने प्रेरणा मिलेको अरुण बताउँछन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट तालिम लिएर उनीहरु कामको अनुभव संगाल्दै दक्ष्यतातर्फ उन्मुख भइरहेका छन् । अरुणको टोली शनिबार धुलिखेल अस्पतालमा कोभिड–१९ को संक्रमणले निधन भएकी सुत्केरी महिलाको शब उठाउन पुग्यो । जसले उनीहरुलाई अर्को एउटा अनुभव गरायो ।

आर एन्ड ए–१६ लाई नेपाली सेना र प्रहरीले पृष्ठभूमिबाट सहयोग पु-याएको भए पनि फ्रन्टलाइनमा नेपाल स्काउटको सहयोगमा टोलीले शब -याप गर्ने काम ग-यो । रगतले लतपत्तिएको शब भएकाले -याप गर्न २० मिनेट लागेको अरुण बताउँछन् ।
उनीहरुले प्रयोग गर्ने एम्बुलेन्स विरामी र शब बोक्न मिल्ने किसिमको छ । त्यसभित्रको बक्स हटायो भने शब राख्न मिल्छ भने बक्स राख्दा विरामीलाई सुताएर अस्पताल पु-याउने सकिन्छ ।

प्लास्टिक -याप गरेको शब गाडीमा राखेपछि उनीहरुको एम्बुलेन्स पशुपति आर्यघाटतर्फ लाग्यो । विद्युतीय शबदाहगृहमा १५ मिनेटपछि उनीहरुले काम फत्ते गरे । त्यत्ति गर्दा उनीहरुले दुई पटक पिपिइ चेन्ज गरे । उनीहरु अहिले पनि कोरेन्टाइनमै बसिरहेका छन् । टोलीका अन्य सदस्यहरुले सेवा दिइरहेका छन् । नेपालमा लकडाउन सुरु भएदेखि नै उनीहरु सेवामा जुटिरहेका छन् ।
सुन्दा सामान्य लाग्ने यो काम असामान्य हो । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीमा आफू र आफ्नो परिवारलाई कसरी बचाउने सकिन्छ भन्ने चुनौतिको सामना गरिरहेका बेला अरुण सैजुको टोलीले संक्रमित, उनीहरुको स्वाब बोकेर सेवा दिइरहेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटसँग सहकार्य गरेर आर एन आर ए–१६ ले समाज सेवामा जुटिरहेको छ । यो महामारीबाट कसरी आफू बच्ने र अरुलाई पनि बचाउन सकिन्छ भन्ने जनचेतना फैलाइरहेको एन आर ए–१६ ले गरेको कामको प्रशंसा यतिबेला सबैतिर भइरहेको छ ।
महान् कार्यका अगुवाहरुलाई हाम्रो पनि सलाम ! – राजधानी अनलाईनबाट
