युट्युबरसँगको विवादले टिकटकको रेटिङ १ स्टारमा झर्याे
पछिल्लो एक साताको बीचमा टिकटकको रेटिङ ४.६ स्टारबाट हिजाेसम्म २ स्टारमा झरेको थियाे । बिहीबार यो समाचार लेख्दासम्म टिकटकको रेटिङ २ बाट पनि झरेर १.३ स्टारमा पुगेको छ । भिडियो सेयरिङ प्लेटफर्म युट्युब र टिकटकबीच भारतबाट विवाद सुरु भएपछि प्रयोगकर्ताले प्लेस्टोरमा टिकटकको रेटिङ नै कम गरेका हुन् ।
भारतका एक टिकटक स्टार अमिर सिद्दिकी र क्यारी मिनाटी भनेर चिनिने युट्युबर अजेय नागररबीचको विवादले टिकटकको रेटिङ कम भएको हो । केही दिनअघि इन्स्टाग्राममा सिद्दिकीले युट्युबरहरूले कन्टेन्ट कपी गरेको आरोप लगाउँदै भिडियो अपलोड गरेका थिए । त्यसपछि क्यारी मिनाटीले सिद्दिकीलाई आलोचना गर्दै युट्युबमा भिडियो हालेका थिए ।
तर, प्लेटफर्मको सेवा–सर्तहरू उल्लंघन गरेको भन्दै युट्युबले करोडौँ प्रयोगकर्ताले हेरेको उक्त भिडियो हटाएको थियो ।
यो घटनापछि भारतीय सामाजिक सञ्जालमा ‘रोस्टनहिफ्राइ करुंगा’ र ‘ब्यानटिकटक’जस्ता विषय ट्रेन्डिङमा रहेका छन् । कतिपय प्रयोगकर्ताले टिकटक मोबाइलबाटै हटाएको भन्दै पोष्टहरूसमेत गरिरहेका छन् । क्यारी मिनाटीका प्रसंसकहरूले टिकटकको रेटिङ पनि कम गरिदिएका हुन् ।
छोटो समयमै निकै चर्चामा आएको टिकटकले नेपालमा समेत थुप्रै प्रयोगकर्तालाई चर्चामा ल्याएको छ । त्यस्तै भारतमा पनि कैयौँ टिकटक स्टार बनेका छन् । युट्युब भने ठूला भिडियो सेयरिङ प्लेटफर्म हो ।